लमजुङ, ४ जेठ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको हो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।



घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


