
केशवराज भण्डारी
झापा, ३ पुस । झापा अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई अध्ययन अवलोकन भ्रमण गराएको छ ।
नगरभित्रका ३० जना कृषक दुइजना वडा अध्यक्ष, कृषि विकास शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको भ्रमण कार्यक्रम झापाको गौरादह नगरपालिका वडा नं. ६ मा रहेको महारानिझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित बिउ प्रशोधन केन्द्र र नमुना एकीकृत सहकारी खेतीको अध्ययन अवलोकन गरी फर्किएको छ ।
अध्ययनका क्रममा सहकारीले गरेको चाक्लाबन्दी खेती र त्यसको अवधारणाका विषयमा एकीकृत नमुना खेतीका अध्यक्ष वेदनिधि चापागार्इंले सुझाएका थिए । विभिन्न प्रविधिबाट गरिएको सहकारी खेतीमा ८२ बिगाहा जमिन लिजमा लिई व्यावसायिक गाई पालन, अचार उद्योग, कृषक पाठशाला लगायतका कार्यक्रम तथा गतिविधि सञ्चालनमा रहेका छन । सामुहिक खेतीको अवधारणामा अगाडि वढेका सो खेति नेपालमै पहिलो र सफल खेतीको रुपमा परिचित छ ।
साना किसान कृषि सहकारीबाट सञ्चालन गरिएको खेतीको अवलोकन पश्चात अर्जुनधारा नगरपालिका भित्र पनि यस किसिमको सामुहिक खेतीको अवधारणामा कृषिको विकास गर्नुपर्ने आफूलाई महसुस भएको बताउँछिन् अर्जुनधाराकी कृषक बृन्दा लुइँटेल ।
भ्रमणमा सहभागी कृषकहरुमा सहकारी खेतीको अवलोकन र यहाँको प्रविधिबारे केही बुझाइए पछि आफ्नो नगरमा पनि यस प्रकृतिको सामूहिक खेतीलाई योजनाबद्धरुपमा आगाडि बढाउनु पर्ने साथै आफू पनि साना किसान कृषि सहकारीको अध्यक्ष भएको बताउँछन्, अर्जुनधारा–११ का वडा अध्यक्ष भैरव खड्का ।
कृषकलाई एकीकृत खेती प्रणालीको जानकारीका साथै चक्लाबन्दी खेतीका लागि अग्रसर गराउने उद्देश्यका साथ भ्रमण कार्यक्रमको आयोजना गरिएको वताउदै अर्जुनधारा नगरपालिका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराई भन्छन्, ‘व्यावसायिक कृषि विकासका लागि सामूहिक खेती नै आजको खावश्यकता बनेको हुँदा कृषकलाई यो एकीकृत नमुना खेतीबाट केही सिकाई हुने छ ।’
अर्जुनधारा नगरपालिका झापाले नगरको वडा नं. ८ लाई कृषि पकेट क्षेत्र घोषणा गरेसँगै पछिल्लो समय व्यावसायिक कृषिका क्षेत्रमा कृषकहरुको चासो बढेको छ । यही चासो र उत्साहमा थप टेवा पुर्याउने साथै व्यावसायिक खेतीको अवधारणा तयार गर्न सहयोग पु¥याउने उद्देश्य राखेर अध्ययन अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको वडा नं. ७ का वडा अध्यक्ष नविन ढुंगाना बताउँछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


