बनियानी, ८ असार । कोशी प्रदेश सरकारबाट झापा क्षेत्र नम्बर–३ (क) मा करोडौंको योजना विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम मार्फत झापा संसदीय क्षेत्र न.–३ (क) मा करोडौंका योजना दिएको हो ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने यस क्षेत्रबाट निर्वाचित प्रदेश सभासद एवम् भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल गाउँपालिकाका ७ वटा वडा र भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये (वडा ९ र १० बाहेक) मा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै योजनाहरू परेका हुन् ।



प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष निर्वाचित सभासदले अढाई करोड र समानुपातिक सांसदले डेढ करोड रुपैयाँ बराबरको योजना पार्न सक्ने व्यवस्था छ । प्रत्यक्ष तथा समानुपातिक तर्फका सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४५ प्रतिशत, सामाजिक विकास मन्त्रालयबाट २० प्रतिशत, खानेपानी तथा सिंचाई मन्त्रालयबाट १५ प्रतिशत; पर्यटन, बन तथा वातावरण मन्त्रालयबाट १५ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५ प्रतिशत योजनाका लागि बजेट पाउँछन् ।
राजवंशी आफैं भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका र आफ्नो क्षेत्र र त्यस बाहेक पनि केही क्षेत्रको विकासमा रुचि राख्ने अग्रसर भएका कारण उनले आफ्नो क्षेत्रमा २० करोड रुपैयाँभन्दा बढीका योजनाहरू ल्याउन सफल भएका हुन् ।


