राजनीति शीर्ष खबर

अर्थमन्त्रीद्वा मेची क्याम्पसको मानविकी र छात्रावासको शिलान्यास

रोहित काफ्ले
भद्रपुर, २८ मंसिर ।
अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा मानविकी संकाय र महिला छात्रावास भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।

उद्घाटन तथा शिलान्यासपछि आयोजित समारोहमा मन्त्री खतिवडाले सरकारले लक्ष्य लिएको समृद्ध नेपाल निर्माणका लागि दक्ष जनशक्तिको खाँचो हुने भन्दै व्यावसायिक तथा प्राविधिक शिक्षामा सरोकारवाला सबैले जोड दिनुपर्ने बताए ।

अब विश्व बजारसँग प्रतिस्पर्धा गर्न साधारण शिक्षाबाट नभई व्यावासयिक तथा प्राविधिक शिक्षाबाट मात्र सम्भव भएकोले विद्यालयस्तरदेखि नै त्यसप्रकारको शिक्षालाई प्राथमिकता दिइनुपर्ने धारणा राख्दै मन्त्री खतिवडाले वैज्ञानिक शिक्षालाई पनि सँगसँगै लैजानुपर्ने उल्लेख गरे ।

‘अबका कलेज वैज्ञानिक धारका बन्नेछन्, प्राविधिक धारका बन्नेछन्’, उनले भने– ‘शिक्षामा रुपान्तरण आवश्यक छ ।’

मन्त्री खतिवडाले देशको अर्थतन्त्र सन्तोषजनक ढंगबाट अघि बढिरहेको पनि बताए । उनले पछिल्लो समय तीव्र विकास गर्ने विकासोन्मूख मुलुकमा नेपाल उत्कृष्ट १० मा परेको उल्लेख गर्दै दक्षिण एशियामा नेपाल र बंगलादेशले प्रगति गरेको बताए । राज्य पुनुर्संरचनापछि मुलुक आर्थिक संघीयतामा प्रवेश गरेको करिब डेढ वर्ष मात्र भएकोले तीन तहमा आर्थिक तालमेल मिलाउन अझै बाँकी रहेको उनको भनाइ थियो ।

योजनाहरु अलपत्र भइरहेको प्रसंगमा मन्त्री खतिवडाले जुनसुकै सरकारले शुरु गरेको भए पनि यो सरकारले त्यस्ता अलपत्र योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व राष्ट्रपति रामवरण यादवले ०७१ सालमा शिलान्यास गरेको प्रशासनिक भवन १ करोड ६० लाखमा निर्माण भएको हो भने मानिविकी संकाय भवनको लागत ३ करोड ३७ लाख र छात्रावास भवनको लागत ३ करोड ७३ रुपैयाँ रहेको क्याम्पस प्रमुख कमल गुरागाईंले जानकारी दिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीविक्रम राईको अध्यक्षतामा आयोजित समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले योजनाहरु शिलान्यास हुने अनि अधुरै रहने अवस्था रहिरहेकोले शिलान्यास भइसकेका योजना सम्पन्न हुनुपर्ने बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता सिटौलाले भद्रपुरमा निर्माणाधीन जीपी भवनको निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको भन्दै त्यसलाई चाँडै पूरा गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराए ।

प्राध्यापक कृष्णकुमार मैनालीले सञ्चालन गरेको समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्राध्यापक संघ मेची क्याम्पसका अध्यक्ष पुण्य खरेल, कर्मचारी संघका अध्यक्ष कमलसिंह राजवंशी, स्ववियु सभापति भुवन बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख कमल गुरागाईंले क्याम्पसको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

सोही अवसरमा क्याम्पस परिसरमा बौद्धिक बाटिकाको पनि शिलान्यास गरिएको थियो । मंगल सेवा समितिको पहलमा समाजसेवी चन्दादाताहरुको आर्थिक सहयोगबाट निर्माण हुने सो वाटिका निर्माण सम्पन्न गर्न ३३ देखि ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको वाटिका निर्माण संयोजक अजय साहेवालाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले शुक्रबार नै आन्तरिक राजश्व कार्यालय भद्रपुरको अवलोकन–निरीक्षण गरी राजश्व असुलीको अवस्था बारे जानकारी लिएका छन् ।

Facebook Comments

फेसबुक