विचार समाज

कविताः चिताको चित्कार

दीपक चापागाईं
कनकाई नदीको पुल तरिरहेको थिए
अचानक रोदन र चित्कार आवाज
एकदमै कारुणिक भावले मेरो मन तान्यो
एसो उत्तरतर्फ फर्केर हेरेको ।

आगोले जलाएर खरानी बनाउने
मरेका मानिसका लाशमा रमाउने
फलामको चिता चिच्याइरहेको थियो
उसको चित्कारले मेरो ध्यान लियो ।

विस्तारै चिताको नजिक पुग्दा त
माईमा आएको भेलले हप्काउंदै थियो
कयौँ लासहरु देखी नडराउने चिता
माईमा आएको भेलवाडीसँग
चिच्याउँदै भनिरहेको थियो
कृपया मलाई नबगाई देऊ
मैले धेरै पापीहरुलाई
खरानी बनाएर पेलेको छु ।

मै हुँ भन्ने र धनले मातेकाहरुलाई
नाङ्गै बनाएर शरीरका कपडाहरु खोलेको छु
धेरै पापी र अधर्मीहरुको छातीमा
धुसिया भ्रष्टचारी र उसका साथीमा ।

फलामे टाँड माथी राखिरहँदा
ती आगोको लप्कामा पाकिरहँदा
फलामले अंग अंगमा डाम्दै
आफ्नो विगत सम्झिएर काप्दै ।

सत्ता, शक्ति र पैसाको आडमा
मच्चाएका वितण्डाका कुकर्महरु
धिकार्दै गरिरहेको आत्मग्लानी
पश्चयतापको पीडाहरुको मधुर ध्वनी ।

सुन्दै नसुनिकन निमर्मताले घोचिरहँदा
मैले पाउने आनन्दको अनुभूति
न त कुनै दरबारका रानीहरुले
न त कुनै धन सम्पत्तीका खानीहरुले ।

न त स्वर्गका अप्सराहरुले
न त स्वर्गका राजा इन्द्रले नै
पाउँदै नपाउने भोक विलासको आभाष
माईमा आउने भेलबाढीले लैजाँदै छ ।

हे कनकाई माई मलाई नबगाउ
यस धर्तीमा मैले अझै धेरै धेरै
फटाहा, पापी र अधर्मीहरुलाई
भ्रष्ट घुसिया र अत्याचारीहरुलाई ।

शोषक सामन्तीहरुलाई
समाजको आँखा छल्दै कुमर्म लुकाई हिँड्ने
आफ्ना कर्तुत छोपी, छोपाई हिँड्ने
कलियुगका कलंकहरुलाई

मेरो ढाँडमा राखेर यसरी नै
आगोको लप्कासँगै पश्चतापका स्वरहरु
सुनिरहन पाइन भने म आर्यघाटको चिता
बौलाएर मानव बस्तिमा छिर्ने छु ।

त्यसैले कनकाई माई मलाई बचाउं
चिताको त्यो चित्कारले मेरो निन्द्रा खुल्यो
एसो घस्किएर घडीको काटा हेरे
सुई रातको बाह्र अंकमा पुगेको थियो ।
कनकाई, झापा

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक