स्थानीय खबर

शिवसताक्षीका साप्ताहिक हाट बन्द

कनकाई, २१ साउन । शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ ।

कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाका बिर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘कोरोनाको संक्रमण फैलन नदिन नगरका बढी भिडभाड हुने बजार र धार्मीक तथा पर्यटकीय स्थल बन्द गरिएको हो ।’ समितिको निर्णयलाई अटेर गरेर जवरजस्ती गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाहि हुने उनले बताए । सो ऐनमा १ महिना कारागार वा १ सय रुपैँया जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

नगरका झिलझिले बजार सोमबार, दुधे बिहीबार, माईधार मंगलवार, शिवगञ्ज आइतबारका दिन बजार लाग्दै आएको थियो । साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छन । खोलिएका पसलमा सामाजिक दुरी कायम राख्नका लागि अनिवार्य गोलो घेरा बनाइनुपर्ने, विक्रेता र क्रेताले अनिवार्य माक्स लगाएको हुनुपर्ने, पसलमा सेनिटाईजर वा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हुनुपर्ने समितिले निर्णय गरेको छ । कोरोना कोभिड १९ रोकथाम तथा राहत कोष समन्वय समितिको बैठकले गरेको निर्णय अनुमोदनका लागि २२ गते बस्ने कार्यपालिका बोर्डले अनुमोदन गर्ने शिवसताक्षी नगरपालिकाका साहायक सुचना अधिकारी डिल्ली नेपालले बताए ।

यस्तै नगरका धार्मिक तथा पर्यटकीय स्थलमा पनि स्थानीय प्रशासनले कडाइ गर्ने भएको छ । दोमुखा र सताक्षीधाममा सर्वसाधरणको आवत जावत बढेको भन्दै ईलाका प्रहरी कार्यालय झिलझिलेले त्यसलाई रोक्ने भएको छ । दोमुखा र सताक्षीधाममा लकडाउन गरिएका पालिकाका स्थानीय बासिन्दाको आउने जाने क्रम बढेपछि प्रशासनले निगरानी बढाउने भएको हो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक