सूर्यप्रसाद अधिकारी
झापाली महिला मुक्ति आन्दोलन तथा नेपालको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनकी पहिलो भूमिगत अग्रणी महिला नेत्तृ हुन् लीला कट्टेल । ऐतिहासिक झापा विद्रोह कालीन समयमा महत्वपूर्ण भूमिका खेलेकी लीलाले तत्कालीन सामन्ती राज्यसत्ताका विरुद्द आफूलाई पूर्ण समाहित गरी जनताका अधिकार प्राप्तिका लागि निरन्तर लडिरहिन् फलस्वरुप पञ्चायत हुँदै राजतन्त्रको अन्त्य सम्मको महत्वपूर्ण यात्रामा झापाली माटोको इतिहासमा लीलाको रगत अनि पसिना दुवै सिञ्चित छ भन्दा झापाली कम्युनिष्ट आन्दोलनको इतिहास पूर्ण हुन्छ । यिनै परिवर्तनकी सेनानी, महिला आन्दोलनकी नेतृ, न्याय, सुशासन, समानता तथा समाज रुपान्तरणमा आफूलाई जनतासामु समर्पित गर्न कति पनि नहिचकिचाउने विकासकी प्रतिमूर्ति लीला कट्टेलको स्मृतिमा लीला कट्टेल स्मृति प्रतिष्ठान झापाले तयार पारेको पुस्तक हो परिवर्तनका पाइलाहरु ।
सन्तोष आचार्यको सम्पादन, पवन राजवंशीको आकर्षण वाह्कलेवर, अरनीको छापाखाना विराटनगरको मुद्रण रहेको प्रस्तुत पुस्तकमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन धिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको छ ।
परिवर्तनका पाइलाहरु गणतन्त्र प्राप्तिपछिको स्थानीय तहको निर्वाचनमा झापा जिल्लाका १५ ओटै स्थानीयतहबाट निर्वाचित महिला जनप्रतिनिधिहरुको सामाजिक, राजनीतिक लगायतका इतिवृत्तको फेरिहस्तरुपी दस्तावेजको संग्रह हो । भूमिका खण्डका अलावा ४१८ पृष्ठमा तयार भएको प्रस्तुत पुस्तकमा झापा जिल्लामा २८२ निर्वाचित महिला जनप्रतिनिधिहरुरहेको वर्तमानसम्मको विभिन्न कोणबाट टिप्पणी गरिएको छ ।
१५ ओटै स्थानीयतहरुका प्रमुख तथा उपप्रमुखहरुका विचार, अनुभव, उहाँहरुले समाजको रुपान्तरणमा खेल्नुभएको भूमिका अनि महिला भएकै कारण भोग्नु पनेर् सामाजिक असान्दर्भिकतालाई पनि प्रस्तुत पुस्तकमा उहाँहरुका बारेमा लेख्ने लेखकहरुको कलमीले जोडदारसँग उठाएका छन् । विभिन्न राजनीतिक दलहरुमा रहेर पनि आफ्नो स्थानीयतहको विकासमा अहोरात्र खट्ने यी राजनैतिक नारी हस्ताक्षरहरुको हिजोदेखि आजसम्मको योगदान, उनीहरुले भोग्नु परिरहेको अदृश्य तर भोग्य पीडा, राजनीतिक दलमा आबद्ध भई समाज रुपान्तरणमा लागे पनि बोक्नुपनेर् अपजस, यसले निम्त्याउने पारिवारिक एवम् सामाजिक बिग्रह लगायतका यावत् झन्झटहरु हाम्रा स्थानीय महिला जनप्रतिनिधिहरुमा पनि रहेका छन् । तर, ती सबै गौण विषय बन्दछन् । किनकि हामी आफू इमान्दार बन्न र अरुलाई दोषको पगरी गुथाउन तेस्रो आँखा सधैँ खुला राखेको भान गरिरहेका हुन्छौँ । थाहा छैन कहिलेसम्म हामी हिराको कथा लेख्न पहाड फोरेर माटो घोटिरहन्छौँ । तथापि समाजमा न्याय जिउँदै छ । हाम्रा जिल्लाका महिला जनप्रतिनिधिहरु समाज रुपान्तरणमा लागिरहून् हाम्रो शुभकामना ।
अहिले हामी सबै संघीय संरचनाको आभ्यासिक चरणमा छौँ । त्यही चरणको तपाईंहरु पनि एक सहयात्री मात्रै हो आलोचना, समालोचना समाजका सुन्दर प्रतिविम्वहरु हुन् वास्तविकता त्यो मात्रै हो जुन वास्तविक नै हुन्छ । लडाइँका कथालाई जुनसुकै कथाकारले किस्सा अनि कहानीमा जीवन्तता दिन सक्छ, पात्रहरु भरी सुन्दर कारुणिक मार्मिकता भर्न सक्छ तर कथाकारले जत्ति नै प्रयास गरेपनि युद्धकले वा द्रष्टाले भोगेको जीवन दिन सक्तैन भलै दिएँ भने उसको त्यो सन्तोष परम सुखम् सिवाय केही पनि होइन । यसको आशय तपाईँहरु पूर्ण हुनुहुन्छ भन्ने पनि होइन नत आधा भन्ने नै हो । सिक्ने क्रममा हुनुहुन्छ सिक्तै अघि बड्नुहोस् तर न्यायको तराजुलाई उचो बनाउन किन्चित् नझुक्किनु होस् ।
परिवर्तनका पाइलाहरु कुनै जीवनदर्शनसँग सम्बन्धित पुस्तक होइन तर केचाहिँ अवश्य हो भने महिला आन्दोलन, त्यसले समाजमा पारेको प्रभाव, भोलिका दिनमा नेपाली राजनीतिमा महिलाहरुले खेल्ने भूमिका तथा महिलाहरु पनि देश निर्माणका संवाहक हुन् भन्ने सन्देश दिने पुस्तक भने अवश्य हो । यसर्थ यस पुस्तकलाई पठनीय अनि संग्रहणीय पुस्तकको सूचीमा राखे अवश्य पनि पुस्तकले न्याय पाउने छ । भूमिकाकार नरेश खरेल, भीमा शिवाकोटी, लगायतको लेखकीय क्षमताको उच्चप्रशंसा गदैर् झापा जिल्लाका महिला जनप्रतिनिधिहरुको बाँकी कार्यकाल जनपक्षी भएर बितोस् शुभकामना ।
– कनकाई–१, झापा




कमेन्ट गर्नुस्