कृषि समाज स्थानीय खबर

ड्रायर मेशिन भित्रिएपछि गौरादहका कृषक उत्साहित

सन्तोष शर्मा
बनियानी, २२ साउन ।
धान सुकाउने ड्रायर मेसिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् ।

ड्रायर मेसिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेवल’ (यताउता लान÷सार्न मिल्ने) ड्रायर मेसिन प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेसिन पाएपछि धान सुकाउन सहज भएको बताउनुभयो । “चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ”, उहाँले भन्नुभयो, “यो पटक धानको भाउ घटेर पाँच सय रुपैयाँमा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई÷तीन महिनापछि एक हजार रुपैयाँ सहजै पाउन सकिन्छ ।”

झापामा चैते धानका लागि ड्रायर मेसिनको धेरै आवश्यक रहेको उहाँको भनाइ छ । समूह अन्तरगत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् । “कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जग्गा अनुसार धान दिने र काम गर्ने कृषकले ज्याला समेत पाउनुहुन्छ ।” गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईं बताउनुहुन्छ ।

गौरादह–५ कै कृषक अर्जुन खतिवडा बर्षा–झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताउनुभयो । धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उहाँले बताउनुभयो । भन्नुभयो, “धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ ।”

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न नसकिँदैन । जसकाकारण सस्तो–महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ झापाका बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेसिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिनुभयो ।

परियोजना कार्यान्वयन इकाइले ड्रायर मेसिनका लागि रू २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि रू २० लाख अनुदान दिएको हो । उक्त ड्रायर मेसिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ ।

“मेसिनको सफलता हेर्न बाँकी छ”, बरिष्ठ कृषि अधिकृत सुवेदीले भन्नुभयो, “राम्रो भयो भने कृषकले लाभ पाउनुका साथै चैते धान खेती विस्तारमा समेत सहयोग पुग्छ ।”

“चैते धानमा ३०÷३५ प्रतिशत चिस्यान हुन्छ, धान भण्डारण गर्न १८ प्रतिशत भन्दा कम र बीऊका लागि १२ प्रतिशतसम्म चिस्यान हुनुपर्छ”, उहाँले भन्नुभयो, “ड्रायर मेसिनले धान सुकाएर २÷४ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ, कृषकले पर्खेर राम्रो मूल्यमा बेच्न पनि सक्छन् ।” यस पटक पनि झापाको गौरादह बाट चैते धानले उचित मूल्य नपाएको गुनासो आएको उहाँले बताउनुभयो ।

झापामा सुपरजोन अन्तरगत चैते धानको क्षेत्र १५ सय बिघाबाट बढेर २१ सय बिघा पुगेको परियोजना कार्यान्वयन इकाइले जनाएको छ । चैते धानको उत्पादकत्व ५.६ बाट बढेर ५.७ पुग्ने बरिष्ठ कृषि अधिकृत सुवेदीले बताउनुभयो । रासस

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक