विचार समाज

राजनीतिक पार्टीहरू प्रजातान्त्रिक हुने हो भने ८० प्रतिशत रोग निको हुन्छ

राम कार्की, नेता– नेकपा (माओवादी केन्द्र)

राम कार्की नेकपा (माओवादी केन्द्र)का बौद्धिक नेता मानिन्छन् । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

आत्मसमीक्षा गर्नुपर्ने, मुलुकको शासकीय प्रणाली परिवर्तन, नेतृत्व परिवर्तनलगायत विषयहरूले बैठकमा प्रवेश पाए ।

प्रस्तुत छ, केन्द्रीय कमिटी बैठकपछि यिनै विषयमा केन्द्रित रहेर कार्कीसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानी :

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकबाट कस्ता निष्कर्षहरू निस्किए ?

लामो समयदेखि कुनै पनि राजनीतिक पार्टीहरूको जीवन सलबलाएको देखिँदैन । दैनिकी त गरिरहेका छन् । तर, विगतमा ठूला–ठूला आन्दोलनको नेतृत्व गरेका पार्टी पनि अहिले असाध्यै क्लान्त, थाकेजस्तो देखिने अवस्थामा छन् ।

यसको सम्पूर्ण कारण पहिल्याउने, निदान गर्ने ढंगको बैठक त थिएन । तर, पनि बैठकमा केही समस्याहरू बाहिर आए । अहिले पार्टीमा र नेपाली समाजमा गुजुल्टिँदै गएका समस्याहरू छन् । त्यसका बारेमा केही कुरा बाहिर आए ।

पार्टीले जबर्जस्त रूपमा, वस्तुनिष्ठ रूपमा आत्मसमीक्षा गर्नुपर्छ भन्ने कुरा अगाडि आएको छ । हामीकहाँ एकले अर्कोलाई दोष थोपर्ने, कसैले आफ्नो जिम्मेवारी, दायित्वप्रति सजग गराउन खोज्यो भने हतार–हतार शरीरमा हरियो सर्प फालेजसरी अर्कोमा फालिहाल्ने परिपाटी छ । अब हामी यस्ताबाट बच्नुपर्छ ।

बैठकमा समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्ने विषय पनि उठेको थियो । प्रणाली नै फेर्ने कुरा अहिले किन उठ्यो ? 

साथीहरूको चिन्ता कहाँ हो भने, चुनाव असाध्यै भड्किलो र खर्चिलो भयो । नेपालको स्थिति पुँजीपतिहरूसँग चन्दा लिएर आफ्ना जनतालाई एक छाक मासुभात खुवाउने र जितेर आइसकेपछि पाँच वर्ष त्यही पुँजीपतिका लागि काम गर्ने अवस्था बन्यो । त्यसबाट आजित भएर कार्यकारी राष्ट्रपति पो हुन्छ कि ? पूर्ण सिट समानुपातिक बनाउँदा हुन्छ कि भन्ने कुरा आइरहेको छ ।

तर, मलाई लागेको राजनीतिक पार्टीहरू प्रजातान्त्रिक भएपछि ८० प्रतिशत रोग निको हुन्छ । दुर्भाग्य के छ भने, कुनै पनि पार्टीहरू प्रजातान्त्रिक प्रक्रियामा हिँड्दैनन् । प्रजातन्त्रको अभ्यास नगरेकाले गाह्रो परेको हो । यसको अभ्यास गर्नासाथ पारदर्शिता हुन्छ । पारदर्शिता भएपछि त्यहाँ भ्रष्टाचारको दायरा कम हुँदै जान्छ । त्यसैले पार्टी र परिवेशलाई प्रजातान्त्रिक बनाउने अभियान नै यसको औषधि हो । चुनावलाई कम खर्चिलो बनाउने, योग्य मानिसहरूले चुनाव जित्ने परिस्थिति निर्माण गर्नैपर्छ ।

संघीयताकै विषयमा प्रश्न उठिरहेको छ । धर्मनिरपेक्षताको पनि कुरा आउन थाल्यो । यहाँहरूको बैठकमा पनि प्रणाली परिवर्तनको कुरा उठ्यो । यसले आशंका पैदा हुन थाल्यो भन्ने पनि छ नि ? 

मानिसलाई एकदमै विरह चल्यो भने बाल्यकालको याद आउँछ । यी सबै खराबी देख्दा संघीयता नै त्यस्तो हो कि भन्ने लागेको होला । तर, यत्रो दुःख गरेर ल्याएको संघीयता, गणतन्त्र यसै खेर जाँदैन । यसका लागि रगत बगेको छ ।

सयौँ मानिसहरूले वर्षौँ चिसो छिँढीमा बिताएका छन् । हजारौँको ज्यान गएको छ । त्यसरी स्थापित भएको संघीयतालाई कुनै बबुरोले बोल्दैमा केही हुँदैन ।

तर, संघीयतालाई कसरी प्रभावकारी बनाउने, भ्रष्ट हुनबाट कसरी रोक्ने, सेवा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा हामीलाई पनि चिन्तित तुल्याएको छ । त्यसबारे छलफल अघि बढाउँछौँ ।

अब माओवादीको गन्तव्य ? संसद्भित्रको मसिहा हुने कि पहिले भनेजस्तै छुट्टै शक्ति बन्ने ? 

भविष्यको ब्लु प्रिन्ट हामीसँग छैन । कम्युनिस्टहरूसँग त्यो हुँदैन पनि । मुख्य कुरा जनताको पक्षमा, न्यायको पक्षमा संघर्ष गर्दैै जाँदा धेरै कुरा प्रकट हुँदै जान्छन् । त्यसले सिकाउँछ पनि ।

हाम्रो मुख्य कुरा नेपालको सन्दर्भमा मजदुर र किसानको मुक्तिको अवस्थामा परिवर्तन हो । मजदुर र किसानलाई शक्तिशाली र सबल बनाउन शिक्षा र स्वास्थ्यमा उनीहरूको पहुँचलाई सुनिश्चित गर्नुपर्छ । हामीले प्रतिनिधित्व गर्ने वर्ग भनेको आधारभूत रूपमा मजदुर र किसान नै हो ।

हामी त्यति बेला अलिक चुक्यौँ । २०६४ मा शक्तिशाली भएका बेलामा त्यतातिर मुभ गर्नुपर्थ्यो । राजनीतिक अभियानसँगै शिक्षा र स्वास्थ्यलाई जोडेर काम जानुपर्थ्यो । हामीले त्यति बेला चाहेको भए जुम्ला, मुगु, कालीकोटलाई सम्पूर्ण रूपमा साक्षर बनाउन सक्थ्यौँ । हामीले अभियान सञ्चालन गरेको भए कर्णालीका विकट जिल्लाहरू पनि सम्पूर्ण रूपमा साक्षर बन्न सक्थे । रोगहरूबाट पहिले नै बच्ने अभियान सञ्चालन गर्न सक्थ्यौँ । हामीले ठूला राजनीतिक कुरा त गर्‍यौँ, तर जनतालाई साँच्चिकै बलशाली बनाउने कार्यक्रम गरेनौँ । यी सबै पनि आत्मसमीक्षा हुनुपर्छ । अहिलको केन्द्रीय समिति बैठकमा उठेको छ । शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने अमूर्त कुरा गरेर हुँदैन । कमसेकम दोहोरो अंकमा बजेट राख्नुपर्‍यो भन्ने कुरा उठेको छ । अहिलेसम्म शिक्षमा ५ प्रतिशत बजेट कटेको छैन । स्वास्थ्यमा ४ प्रतिशत कट्दैन । छिमेकी देशहरूमा हेर्दा पनि  उनीहरूले २६–२७ प्रतिशत बजेट लगेर शिक्षा र स्वास्थ्यमा खर्च गरेका छन् ।

अरू बेला केन्द्रीय कमिटीमा माक्सवाद, लेनिनवाद, माओवाद, माओ विचारधारा, साम्राज्यवाद, विस्तारवादका कुरा हुन्थे । तर, हाम्रो पहिलो दुस्मन त अज्ञानता, निरक्षरता हो नि भन्ने कुरा यसपटक उठेको छ ।

जब संसदीय बाटोमा आएका छौँ, चुनाव लडिरहेका छौँ भने त जनताको जीवनसँग असाध्यै जोडिएको सवालमा ध्यान दिएनौँ भने हामी पाखा पर्छौँ । पहिले आत्मसमीक्षा गर्नुपर्छ ।

आत्मसमीक्षा कसले गर्नुपर्छ ?

मुख्य नेताले धेरै गर्नुपर्‍यो । अरुले आफ्नो भागमा परेको गर्नुपर्‍यो । स्थायी कमिटी, केन्द्रीय कमिटीले गर्नुपर्‍यो । त्यसले के लहर जान्छ भने वडा तहको नेताले पनि आफ्नो जनतासँग गएर आत्मसमीक्षा गरोस् ।

०६४ मा त्यहाँका चल्दापुर्जा, शिक्षित, नागरिक समाज, प्रबुद्ध भनिने सबैको लागि माओवादी परचक्री थिए । ट्रेन्ड कस्तो थियो भने नेता भएपछि चोकमा निस्किन्छ । अलिक ठूलो भए सदरमुकाममा जान्छ र त्योभन्दा ठूला नेता सदरमुकाम जान्छ । ती कांग्रेस, एमालेका नेताहरूको आदेश अवज्ञा गरेर मजदुर र किसानले परचक्री ठानिएको माओवादीलाई जिताए । तर, ती मजदुर र किसानसँगको सम्बन्धलाई प्रगाढ बनाउन सकेनौँ ।  उनीहरूको हितमा काम गर्न सकेनौँ । उनीहरूको हितमा काम गर्न सकेको भए कसैले पनि हामीलाई हल्लाउन सक्दैनथ्यो । हाम्रा नीतिहरू उनीहरूको पक्षमा भएनन् । हामीले तिनै ठूलो पार्टी बनाउने जनतासमक्ष नै जानुपर्छ ।

जहाँबाट बाटो बिर्सियो त्यहीँ फर्किनुपर्छ भन्ने हो ? 

स्वाभाविक रूपमा लक्ष्यमा पुग्न त्यहीँ फर्किनैपर्छ ।

बाटो कसरी बिराउन पुगियो ?

त्यसबारेमा बृहत् अध्ययन गर्नुपर्छ । मुख्य कुरा त वैचारिक रूपमा सरकार कसरी चलाउने, सेवा कसरी प्रवाह गर्ने भन्ने कुराको अभाव पनि हो । सत्ता भत्काउने कुरा र सत्ताकब्जा गर्ने कुरा त माक्सवादी, लेनिनवादी आन्दोलनमा खुब पढाइन्छ । तर, सरकार कसरी सञ्चालन गर्ने, सेवा कसरी प्रवाह गर्ने भन्ने कुराको धेरै पढाइ हुँदैन ।

हुनचाहिँ ती विषयमा माक्सवादी आन्दोलनमा अध्ययन प्रशस्त भएका छन् । तर, हामी विजेताको बारेमा मात्रै पढ्छौँ । हामी लेनिन, स्ट्यालिन पढ्छौँ । तर, मनोविज्ञान, कुषि, उद्योग, कलकारखानाको क्षेत्रमा, कृषिको ज्यावल क्षेत्रमा जीवन बिताएका माक्सवादी वैज्ञानिक, डाक्टर, प्राणीशास्त्रीका बारेमा पढ्दैनौँ ।

हाम्रो ज्ञान एकलकाँटे खालको भयो । यतिका वर्षपछि ढिलै भए पनि प्रश्न उठेका छन् । माओवादीले गम्भीर रूपमा आत्मसमीक्षा गर्‍यो र आफ्ना भुलहरू सच्याएर फेरि त्यो आधारभूत जनतामा गएर टेक्यो भने माओवादी बलियो हुँदै जान्छ । त्यसो गर्न सकेन भने जसरी अहिले एमाले विघटनतिर गइरहेको छ, त्यसैगरी माओवादीको विघटन हुनसक्छ ।

प्रचण्डपथ आजकाल अलिक सुनिँदैन, छाडिएको हो कि ? 

अहिले प्रचण्डपथ ‘ड्रप’ गरिएको हो । त्यसमा कुनै छलफल पनि भएको छैन । बीचमा त माओवादकै छलफल हुन छाडेको थियो । अहिले माओवादचाहिँ आउन थालेको छ ।

मुख्यतः यी सबैको राम्रो योगदान छ । माक्स, लेनिन, माओलगायत थुप्रै जो सफल हुन सकेनन्, जो सहिद हुन पुगे, जसले जेलमै जीवन बिताउनै पर्‍यो, ती तमामले माक्सवादको भण्डारमा ठूलो शिक्षा दिएको छ । त्यसको योगदान छ । सबैबाट शिक्षा लिुनुपर्छ । तर, नाम कसको राख्ने भन्नेमा माक्स, लेनिन, माओको नाम काफी छ भन्ने लाग्छ । प्रचण्डपथ अहिले उठाउन जरुरी छैन ।

०६४ मा पहिलो शक्ति बनेको माओवादी ०७४ मा गठबन्धन बनाएर निर्वाचनमा होमियो । माओवादी अरूसँग आश्रित भएरै जानुपर्ने स्थितिमा पुगेको हो ? 

कतिपय राम्रा कुराका निम्ति सहकार्य गर्नुपर्छ । जस्तो, हिजो राजतन्त्र फाल्नका लागि सहकार्य गर्‍यौँ । त्यसलाई गलत भन्न सकिँदैन । नेपालमा निरक्षरता अन्त्य गर्न कांग्रेस, एमाले हात मिलाउँछन् भने सहकार्य गर्न सकिन्छ । कम्युनिस्ट पार्टीमा स्वतन्त्र पहलकदमी गर्ने स्थितिमा हामीले पुर्‍याउनुपर्छ । तर, हामी उनीहरूमा नै आश्रित हुनुपर्ने, भर गर्नुपर्ने अवस्थाबाट हाम्रो पार्टीलाई स्वतन्त्र अस्तित्त्वमा ल्याउन चाहन्छौँ ।

के कारणले अरूसँग आश्रित हुनुपर्ने अवस्थामा पुगियो ? 

आन्दोलनले नेताहरूलाई स्थापित गर्दो रहेछ । लामो संघर्ष, प्रयत्नपछि अन्जानमा रहेको मान्छे राष्ट्रिय राजनीतिको माथिल्लो ठाउँमा आइपुग्छ ।

जस्तो, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, मोहन वैद्य नेपालको राजनीतिमा छाउन पुगे । यसमा अरू लाखापाखा लागे । माओवादी आन्दोलनको धरोहर, यसको नासोमा उभिरहेको पात्रचाहिँ प्रचण्ड हुनुहुन्छ । त्यसैले हाम्रो ज्ञान, विवेक, प्रशंसा, आलोचना उहाँलाई नै गर्नु ठिक हुन्छ भन्ने लाग्छ ।

किनभने, मोहन वैद्यजी नि अन्तै पुग्नुभएको छ । उहाँहरू पनि एक्ला–एक्लै, सानो–सानो एकतारे बनाउनुभन्दा सबै यहीँ आएर सबै खालका बाजा बजाउनु राम्रो हुन्छ ।

मेरो रायमा त, प्रचण्डको पिँढीले अलिकति बाटो सोझ्याएर नयाँ पिँढीलाई नेतृत्व सुम्पनुपर्छ । यसैगरी छोड्दाचाहिँ छरपष्ट हुन्छ । आन्दोलनलाई एकीकृत बनाएर लैजान पाखा लागेका साथीहरू आउनुपर्छ । तर, लामो समयसम्म हाम्रो पिँढीले कार्यकारी अधिकार लिन्छु भनेर बस्नु हुँदैन । नयाँ पिँढीलाई छोड्नुपर्छ ।

नेतृत्वका लागि अर्को पुस्ता तयार छ ? 

नयाँ पिँढी त लडेपछि तयार हुने हो । त्यसका लागि त लड्नुपर्‍यो नि । हामी पनि लडेर नै यहाँसम्म आएका हौँ । प्रचण्डसहितको पिँढीलाई उछिनेर आउनुपर्छ । नेतृत्व भनेको अंश दिएजस्तो कुरा होइन् । बाबुले माया गरेर कान्छो त्यहाँको बारी खा, जेठो त्यहाँको खा भनेर अंश लागेजस्तो राजनीति हुँदैन । पहिले त छोराले बाबुको हत्या गरेर श्रीपेच लगाएका हुन् । राजनीतिमा नेतृत्वमा खुसीले बाँडेर हुँदैन । लिनका लागि तयार भएरै आउनुपर्छ । लडेरै आउनुपर्छ । पुुरानाका राम्रा कुरालाई जोगाउँदै नयाँले त्यसलाई रिप्लेस गर्नुुपर्छ ।

अघिल्लो पुस्ताले पनि नयाँ पुस्ता जन्मन नदिएको हो कि ? उत्तराधिकारीको प्रश्न अरू पार्टीमा पनि छ नि ?

ब्रुजुवा पार्टीमा छोरा–छोरालाई अघि बढाउने प्रयास गरिन्छ । अलि–अलि चल्छ पनि । कम्युनिस्ट पार्टीमा पनि कोरियालगायत बन्द समाजमा चलेको देखिन्छ । तर, खुल्ला समाजमा भाइ–भतिज भएर हुँदैन । क्षमता भएरै आउनुपर्छ ।

नेताहरूको जीवनशैली, आचरणका विषयमा प्रश्न उठ्ने गरेको छ । किन यस्ता प्रश्न उठिरहेका छन् ? 

जनताले आफूसँगै भएको खोजेरै खुवाउँछन् । जनतकहाँ पुग्दा नेताहरूलाई राम्रै नै खुवाउँछन् नि । नेताहरूको खानपिनको विषयमा प्रश्न होइन ।  यहाँ त खोला, आकाश खाएको भएर मात्रै जनता रिसाएका हुन् । नत्र एउटा नेताले के खान्छ र ? देश, जमिन खान भएन । बदमासी गर्नु भएन ।

अन्त्यमा ? 
अहिले नेपालको वर्ग हेर्दाखेरी शक्ति उपयोग गर्न जरुरी छैन । हतियार, बन्द, हिंसाको प्रयोग आवश्यक छैन । ठूलो हिंसामा लतपतियर आएको छ, नेपाल । केही साथीहरूले हिंसा गर्न खोजेको जनताले स्वीकृति दिएनन् । अब अहिले शान्तिपूर्ण तर जुझारु संघर्ष किसान, मजदुरको पक्षमा गर्नुपर्छ । त्यो चुनावमा पनि, सडकमा पनि, सदनमा पनि । 

नेता कार्कीको यो अन्तरवार्ता बाह्रखरी अनलाइनबाट साभार गरिएको हो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक