विचार

पत्रकारिता, पर्चाकारिता र पार्टीकारिता ?

राजबाबु शंकर
पत्रकारिता एक प्रकारको पेशा, व्यवसाय एवम् उद्योग हो । राज्यको चौथो अंग भनेर प्रतिष्ठा कमाएको सामाजिक संस्था हो । पत्रकारिता यस्तो सामाजिक क्रियाकलाप हो, जसले समाज र मानवीय गतिविधिका बारेमा समाचार तथा विचारहरू फैलाउने काम गर्छ । पत्रकारिता जनचासो र जनताका हकमा कुनै पनि विषयवस्तुको महत्वलाई हमेशा ख्याल गरेर मात्र गरिन्छ । यस मानेमा पत्रकारिता जनसेवा पनि हो ।

जनतालाई सुसूचित बनाउन प्रमुख भूमिका प्रेस जगतकै हुन्छ । उद्देश्यको आधारमा पत्रकारिताका प्रकृति मुख्यतः ४ किसिमका पाइने गर्छन् । १. पैरवी पत्रकारिता, २. सार्वजनिक पत्रकारिता, ३. मिसन पत्रकारिता र ४. विकास पत्रकारिता ।

पत्रकारिताका सिद्धान्त भन्नासाथ सामान्यतया ‘एबीसी’ भन्ने प्रचलन छ, जसअनुसार ‘ए’ अर्थात् Accuracy (यथार्थ), ‘बी’– Balance अर्थात् सन्तुलन र ‘सी’– Credibility अर्थात् विश्वसनीयता । यिनै ३ सिद्धान्तलाई अवलम्बन गरेर पत्रकारिताले समाचार सामग्री मार्फत तथ्य, विचार, घटना, घटनाक्रम आदिको यथार्थ विवरण पेश गर्छन् र जनतालाई सुसूचित गर्दछ । सत्य र सन्तुलन अवलम्बन गर्ने पत्रकारिता नै जनताको विश्वासिलो बन्न पुग्छ । विश्वसनीयता पत्रकारको सबैभन्दा ठूलो पूँजी हो । जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठूलो प्राप्ति मानिन्छ । पत्रकारितालाई राज्यको चौथो अंग भनिएको र पत्रकारहरूलाई सुबिधाको व्यवहार गरिएको त्यसै होइन । पत्रकारिताप्रति जनविश्वास गुम्नु भन्दा ठूलो हानी पत्रकारिताका लागि केही हुँदैन ।

निष्पक्षता पनि पत्रकारिताको आधारभूत सिद्धान्त हो । समाचार सबै किसिमका पूर्वाग्रहहरूबाट मुक्त हुनुपर्दछ । प्रोपगण्डामा पनि सूचनाको सम्प्रेषण मार्फत कुनै विचार, संस्था, व्यक्ति वा धारणालाई बढीभन्दा बढी प्रचार गर्न खोजिएको हुन्छ । प्रोपगण्डा गर्नेहरूले आफ्ना सूचनालाई समाचारकै रूपमा पेश गरिरहेका हुन्छन् । प्रोपगण्डा एकपक्षीय आग्रह, पूर्वाग्रह वा निहीत स्वार्थप्रेरित हुन्छ । प्रोपगण्डाका हिमायतीहरूले आफ्नै मिडिया सञ्चालन गरिरहेका पनि हुन्छन्, गरेका छन् ।

पञ्चायतकालमा ‘मिसन पत्रकारिता’ थियो । सबै पत्रिकाहरू र सञ्चारमाध्यम सञ्चालकहरूको एकमात्र उद्देश्य पञ्चायतको अवसान र बहुदलीय व्यवस्थाको अभ्युदय नै हुन्थ्यो । मिसनभित्र पार्टीका आफ्ना कुराहरू भनिनै पथ्र्यो । एकताका कांग्रेसका कुरा ‘राष्ट्रपुकार’ र कम्युनिष्टका कुरा ‘समीक्षा’ साप्ताहिकमा छापिन्थे । त्यही नै आधिकारिक मानिन्थ्यो । यसले कहिलेकाहीं मिसन पत्रकारिताभित्र पनि पार्टीकारिता देखिन आउँछ । अहिलेजस्ता च्याउसरी सबैखाले सञ्चार माध्यम, सञ्चारगृह र प्रतिष्ठानहरू थिएनन् । अहिले त कालो धनलाई सेतो बनाउने सन्दर्भमा समेत सञ्चार उद्योगहरूमा लगानी गर्ने गरिएको छ भनेर सुन्नमा आउँछ ।

हिजोको जमाना अब इतिहास भयो । यतिखेर नेपालमा छापा, रेडियो, टीभी, एफएम र अनलाइन गरी करीब १२ हजारको हाराहारीमा सञ्चारमाध्यमहरू छन् । यो संख्या भनेको यति सानो देशका लागि धेरै हो । पत्रपत्रिकाको शक्ति वर्तमान युगमा धेरै छ । एउटै कुरा सयचोटी भनिरह्यो भने त्यो असत्य कुरा भए पनि सत्य हुन पुग्छ ! पत्रकारिताभित्रका ‘कल्मष’ र कर्तुतहरू समेत बग्रेल्ती छन् । समाचार प्राप्त गरेपछि पीडित वा पीडकसँग सम्पर्क गर्ने, मौका परे धम्क्याउने, पैसा वा स्रोत–साधन माग्ने गरेका अनेकौं कुराहरू बेला–बेलामा चर्चित बन्छन् ।

नेपालमा अहिले यु–ट्युबे पत्रकारहरूले जहाँ पायो त्यहीं र जे पायो त्यही विषयलाई उठाएर घाँटी बजाउँदा समग्र पत्रकारिता क्षेत्रकै बदनाम हुनेगरी पत्रुकारिता भएको छ । यु–ट्युबमा समेत वार्ता, खोज, फिचर र समाचारहरू रोचक र राम्रा नभएका होइनन् । तर, समग्र यु–ट्युबरहरूको नाम र कामलाई केही यु–ट्युबरहरूले गर्दा बेइज्जत हुन पुगेको छ; जसको अन्त्य हुन जरुरी छ ।
त्यसैगरी, बकबासे पत्रकारको पनि बिगबिगी छ, वाहवाही छ । पत्रकारिता गरिरहेकामध्ये कुनै–कुनै उद्योगी–व्यापारी वा राज्यका कतिपय निकायका तलबी पनि बनिरहेका धुन्धुकारी पत्रकारिताका खेलाडी पनि नभएका नहोलान् । त्यस्तैले बढुवा पाइरहे, पुरस्कार र सम्मान थापिरहे, नियुक्ति पड्काइरहेछन् । अनि यस्तोमा सत्यासत्यको पक्षपोषणमा विवेक र ब्रह्मले देखेको लेखि–बोलिरहेका पत्रकारहरू भने किनारा लाग्दाछन् । तर, यस्ता बेथितिप्रतिको असन्तुष्टि आफ्नो भागमा क्वै परेन भनेर होइन, विवेकलाई बन्धकी राखेर बाँच्न नचाहेकोले चाहिं हो ।

सञ्चारमाध्यमप्रतिको सरकारी दृष्टिकोण पनि पक्षपातरहित छैन । सरकारले सरकारी सञ्चारमाध्यमलाई आर्थिक, प्रशासनिक र नीतिगत रूपमा पु¥याउने गरेको सहयोगको दाँजोमा निजी क्षेत्रका पत्रपत्रिकाले पाएको सुबिधा नगण्य छ । निजी क्षेत्रबाट प्रकाशित हुने पत्रपत्रिकामध्ये सम्पूर्ण रूपमा जनताको पक्षमा उभिन सक्ने वातावरण छैन । शक्तिकेन्द्रहरू र सरकारी ओहदावालहरूको परोक्ष–प्रत्यक्ष प्रभाव नरहेका प्रकाशन नगण्य छन् । यसले पनि व्यावसायिक पत्रकारिताको उन्नयनमा बाधा दिइरहेकै छ ।

विशेषगरी राजनीतिक पार्टीभित्रका विवाद बिस्कुन लाउने र एकले अर्कोलाई निषेध गर्ने तहसम्मको पत्रकारिताले व्यावसायिकताभन्दा पनि पर्चाकारिता भइरहेको छ । आजकाल त झन अनलाइनको जमाना छ, जसलाई हेडलाइन पत्रकारिता भन्ने गरिन्छ । किनभने, जति हल्ला तुरुन्तै अनलाइनले मच्चाउँछ, त्यसमा छापामाध्यम पछि परे पनि प्रभावका हिसाबले भने छापामाध्यम नै बलवती मानिन्छ ।

यसै मेहरोमा ‘पत्रकारलाई पार्टीको कुनै पनि तह वा समूहको पद छाड्न’ निर्देशन दिने नेपाल पत्रकार महासंघको सुदूरपश्चिम भेलाले २०६६ सालको माघ ४ गते नै गरेको निर्णय निष्पक्ष, जनपक्षीय र विश्वसनीय पत्रकारिताका लागि औधि महत्वको मानिएको छ । तर, आजपर्यन्त पेशाकर्मी आफू आबद्ध पार्टीको कारिन्दा बन्ने क्रम निरन्तर रहँदाको अवस्थामा पेशागत संगठनको केन्द्रीयस्तरमा करीब १२ वर्ष अघि नै उठेको सो कुरालाई बहस र कार्यान्वयनमा कसले ल्याउने ?
पार्टी र पत्रकारितामध्ये एउटा रोज्न आग्रह गरिएको सुदूरपश्चिम भेलाको सो निर्णय व्यावसायिक र निष्पक्ष पत्रकारिताका लागि महत्वपूर्ण प्रस्थानविन्दु हुन सक्छ । तर, सर्वग्राह्य बन्नुपर्ने त्यति महत्वको विषयलाई पनि हालसम्मै केन्द्रमा बहसको विषय बनाइएको छैन । सैद्धान्तिक रूपमा निष्पक्ष पत्रकारिताको दुहाइ दिंदै समाचारमा पत्रकारको विचार राख्न हुँदैन भनेर नयाँ पुस्तालाई घोकाइन्छ । आफ्नो राजनीतिक आस्था वा विचारलाई समाचारमा प्रतिविम्बित हुन दिनु हुँदैन पनि भन्ने गरिएकै छ । तर, नेपाली पत्रकारिताको वास्तविकता सिद्धान्तभन्दा पृथक रहँदै आएको छ ।

समाचारमा पार्टीगत प्रभाव हुनु र पत्रकार कुनै राजनीतिक दलप्रति आस्थावान हुनु फरक विषय हो । तर, नेपाली पत्रकार राजनीतिक पार्टीमा संगठित रूपमा सदस्य छन् । पत्रकारिता गर्दागर्दै राजनीतिक पार्टीमा महत्वपूर्ण पदमा पुगेका उदाहरण पनि छन् । संगठित रूपमा कुनै दलमा आबद्ध वा कुनै दलका प्रचार कमिटी या विभागको नेतृत्वमा रहेकाहरूले लेख्ने समाचार कति निष्पक्ष होला ? राजनीतिक दलका कार्यकर्ता र पत्रकारको पहिचानबीच बसेर काम गर्नेलाई त खासै केही असर नपर्ला, तर उसले लेखेको समाचार पढ्ने आम पाठकप्रति न्याय हुन सक्ला ? यसको अर्थ कुनै मानेमा पत्रकारले राजनीतिक आस्था राख्न हुँदैन वा राजनीतिक गतिविधिमा भाग लिनै हुँदैन भन्ने हुँदै होइन । राजनीतिक दलका गतिविधिमा भाग लिने उसको मौलिक अधिकार हो । तर, सञ्चारमाध्यममा सञ्चारकर्मीका नातामा भने जुन दलको समर्थक भए पनि विशुद्ध पत्रकार हुनै पर्छ । पत्रपत्रिका या सञ्चारमाध्यमहरूमा राजनीतिक पार्टीका वा तिनका नेताका लगानी छन् कि छैनन्, त्यो छुट्टै अनुसन्धानको विषय हो ।

पत्रकारिताको बदलिंदो आयाम
लगभग ३ दशक यता नेपाली पत्रकारिता व्यावसायिक बनेको छ । त्यही व्यावसायिकतालाई संरक्षण र सम्बद्र्धन गर्न नेपाली पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’को अस्तित्व छ । संस्थागत रूपमा नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा बढ्दै गएका समस्याको सम्बोधन गर्न लागिपरिरहे पनि सकेको भने छैन । महासंघ बौद्धिक व्यवसायमा लागेका पत्रकारको प्रतिनिधि संगठन नभएर एउटा अर्को वर्गीय संगठनको रूपमा देखिएको छ । महासंघसँग आक्कलझुक्कल बाहेक यतिञ्जेल कुनै त्यस्तो कार्यक्रम देखिएको छैन, जसले पत्रकारहरूलाई आफ्नो पेशासँग सम्बन्धित नयाँ जानकारी पाउन मद्दत गरोस्, ज्ञान र सीप बढाओस् ।
महासंघले प्रयत्न गर्दा हरेक वर्ष प्रतिभाशाली पत्रकारलाई राम्रो शिक्षा र तालिमको व्यवस्था गर्न पनि नसक्ने होइन होला । तर, महासंघका नेतृत्वहरूले त्यतातिर आफ्नो ध्यानदृष्टि पु¥याएको देखिन्न । पछिल्लो समयमा महासंघको नेतृत्वमा जोसुकै पुगे पनि, त्यो नेतृत्वको मानसिकता पत्रकारिता राज्यको चौथो अंग भएकाले राज्यका अरू अंगले पाएजस्तै सुबिधा पाउनुपर्छ भन्ने मात्रै रहेको पाइन्छ । तर, त्यसमा पनि समताको सिद्धान्त अंगालिएको छैन– एउटा त्यस्तो पेशाकर्मीहरूको संगठन, जसले राज्यसंयन्त्र लगायतका बेथितिको नेकीबदी गर्छ, विरोध र प्रतिकारको कोहराम मच्चाउँछ, अर्थात् समष्टिमा विधि अनुकूलको थितिको पैरवी गर्ने गर्छ । एउटा नजीर यो पनि छ– पत्रकारिताकै नाममा विदेश जाने सूचीमा पनि पत्रकार नेतागण त पर्ने नै भए, तर पत्रकारितामै लामो कालखण्ड बिताएका पेशाकर्मीहरूलाई सम्झिने, खोज्ने, अवसर दिने चलन महासंघले बसाल्न सकेको छैन । अझै आफ्ना कोटरीका, आस्थाका, मेल मिल्ने वर्गका वा आगेपिछे लागेकालाई मात्र त्यस्तो अवसर जुराइने गरेको सत्य छिपेको पनि छैन ।

महासंघको चुनाव पनि दलकै चुनावभन्दा पृथक हुने गरेको छैन, विशुद्ध रूपमा पेशागत व्यावसायिक संगठनकै आधारमा चुनाव हुने गरेको सम्भवतः छैन । यसै पटक पनि चुनावी मैदानमा एकातिर विभिन्न दलका प्रतिनिधि संयुक्त प्यानलका साथ उभिए भने अर्कोतिर सरकार समर्थकको जमात । आस्थागत भन्दा पनि खेमागत प्रतियोगितासदृश अनुभूत हुने यस्तो प्रयोग पत्रकार महासंघमा दलीय राजनीतिकै अर्को संस्करण बन्न पुगेको छ । तर, पत्रकार वर्गले आफ्नो छाता संगठनको चुनावमा विशुद्ध पेशागत रूपमा मात्रै मतदान गर्ने अधिकार सुरक्षित गर्न दिने सांगठनिक निरपेक्षता पत्रकार महासंघबाट कायम नहोउञ्जेल स्वच्छ पत्रकारिताको अभ्यासमा र पेशागत सम्बद्र्धनको अभियानमा बल पुग्दैन नै । पत्रकारिताको मैदानबाट राजनीतिमा सरिक विभिन्न तहका नेतृत्व वर्गले यस कुरामा ध्यान पु¥याउन ढिलाइ पो भइरहेको छ कि ?

उदाहरण पाइन्छ ः एउटा कार्यक्रममा पत्रकार बनेको व्यक्ति अर्को कार्यक्रममा कुनै दलको नेता–कार्यकर्ता, प्रवक्ता, कार्यसमिति सदस्यका रूपमा आतिथ्य गरिरहेको हुन्छ । त्यस्ता पेशाकर्मीले कसरी निष्पक्ष र तटस्थ पत्रकारितालाई मूर्त रूप दिन सक्छन् ? पत्रकार दलीय राजनीतिमा प्रत्यक्ष संलग्न रहँदा ऊ आबद्ध सञ्चारमाध्यम निरपेक्ष हुन नसक्ने त होइन, तर बहुधा हुने गरेका वा पाइएका छैनन् । यसले पत्रकारिताका मूल्य–मान्यतामा ह्रास र पेशागत आचारसंहिताको खिल्ली उडिरहेको केवल आरोप हुन सक्दैन । दलका कार्यकर्ता बन्ने सञ्चारकर्मी र बुलेटिन बन्ने उसका माध्यमले खासमा पत्रकारिताका नाममा दलको वकालत गर्नु के पत्रकारिताकै परिभाषाभित्र पर्छ ? कि पर्चाकारिता वा पार्टीकारिता हुन्छ ?— सवाल छँदैछ । चौथो अंगको मर्यादाधारी पत्रकारिता के हो र कस्तो हुनुपर्छ– खुट्याउने र पेशागत शुद्धीकरण गर्ने जिम्मा शायद पत्रकार महासंघकै हुने होला ।

अझ अर्कातिर त पत्रकार हक हितका लागि नै भन्दै बनाइएका पत्रकारहरूकै अरू संगठनहरूले पत्रकारिताभित्र राजनीति नै गरेका छन् । पार्टीका भातृ संगठनकै रूपमा सबै दल निकट विभिन्न्न नामका संगठनहरू चलायमान छन् । जबकि सञ्चारकर्मीहरूको पेशागत संरक्षण, हित र अधिकारका लागि त साझा संगठन नेपाल पत्रकार महासंघ नै छँदैछ नि । यसले गर्दा समूलतः नागरिक र देशप्रति उत्तरदायी हुनुपर्ने पत्रकारिता राजनीतिक दलविशेष र तिनका नेताप्रति मात्रै बफादार तथा जवाफदेही बनेको पाइन्छ ।

हाल आएर पत्रकारिताको बाढी नै आएको छ । र, बाढीमा हिलो, मैलो, फोहर, पानी सबै हुन्छ; त्यो सङ्लिएपछि मात्र हाम्रो पत्रकारिता शुद्ध हुन सक्छ । त्यसपछि नै पत्रकारिता कुन हो ? पर्चाकारिता के हो र पार्टीकारिता कस्तो हो ? – भेउ पाउन सकिन्छ । अहिलेलाई सोही दिनको प्रतीक्षा गरौं ।

पछिल्लो समयको बयान गर्ने हो भने, समाचार–व्यवसाय पनि निर्विवाद र बेदाग छैन । पत्रपत्रिकाहरूमा कुनै न कुनै रूपमा दलगतभन्दा पनि कुनै एक दलको राजनीतिको प्रष्ट प्रभाव देखिन्छ । दैनिक पत्रिकामा भन्दा अधिक साप्ताहिक पत्रिकामा यसको प्रत्यक्ष प्रभाव रहेको पाइन्छ  । लोकतान्त्रिक गणतन्त्रको खुला वातावरणमा पनि नेपाली पत्रकारिता दलीय राजनीतिको अचाक्ली प्रभावमा छ । पत्रकारिता व्यवसायमा लाग्ने उद्यमी होस् वा सञ्चारकर्मी – अधिकांशतः कुनै न कुनै रूपमा पार्टी राजनीतिमा संलग्न भएकै पाइन्छन् । राजनीतिक दलका जिम्मेवार नेताले नै पत्रकारलाई आफ्नो अघोषित प्रवक्ताका रूपमा लिएका हुन्छन् । त्यस्ता पत्रकारबाट कस्तो समाचार सञ्चारित हुने ? – गम्भीर प्रश्न छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक