विचार समाज

चिप्लोमा लड्दा र चुनावमा हार्दा लाज हुँदैन

तित्रा
‘मलाई त चुनावमा हराएर खत्तम पारे । आफ्नै पार्टीका साथीहरू पनि कति अपराधी हुँदारान् । तपाईं जस्तो बुढो पुरानो इमानदार मान्छे उठेपछि कस्ले मत दिंदैन ? तपाईं उठ्नै पर्छ भनेर उठाए । भोट माग्न जान खोज्दा तपाईंले पनि भोट मागिरहनु पर्छ ? स्वतः दिइहाल्छन् नि ! तपाईंलाई कस्ले चिनेको छैन र ! यो जाडोमा बुढो मान्छे बिरामी होइएला, रात साँझ दौडिंदा भनेर डर देखाए । यसरी भोट माग्दै हिंड्नुभयो भने पाउने मत पनि बिग्रिन्छ भनेर मलाई सुल्क्याए फटाहाहरूले । बरू अरू–अरू पार्टीसँग चुनाव त खत्रा हुँदोरहेछ । भन्ने बेलामा मित्रवत् प्रतिस्पर्धा भने, भोट हाल्ने बेलामा शत्रुवत् व्यहोरा देखाएरै छाडे । यो बुढेसकालमै भए पनि त्यो महाधिवेशन कस्तो हुँदोरहेछ, हेर्न जाउँ भनेको त चङ्खे चतुरेहरूले बिताएर छाडे’ भन्दै माइलाबा आइपुगे ।

उनी बोलिरहे– ‘यो चुनाव भनेपछि धूत्र्याइँ छुल्याइँ कप्टाइँ छट्याइँ हुनै पर्ने । एकथोक बोलेर अर्को थोक गर्नै पर्ने, अलिकति प्रेसर बढाउनै पर्ने, छुच्चो लुच्चो व्यवहार देखाउनै पर्ने, जालझेल गेजु गाँजे गुल्चे गोज्याङ गर्नै पर्ने, छल बल गरेर जित्नै पर्ने… कस्तो अनौठो खेल रहेछ यो चुनाव ! मलाई फकाएर उठ्न लाए अनि हराएर पछारे ! अहिले पो कुरो सुन्दैछु, कोनि कस्को भोट काट्न मलाई उठाएको अरे ! म बुढो मान्छेलाई खेलौना पो बनाएछन् कस्ता छट्टु ? कोनि कुन पार्टीको नीति छ अरे, ढाडमा टेकेर टाउका हान्ने; त्यो नीति मैमाथि प्रयोग गरेछन् । महाधिवेशनको मेला बजारको रमिता सुनेको मात्रै हो, हेरौं न त भनेको; किन दिन्थे झेलीहरूले ! चुनाव हारेपछि लाज लागेर कतै गएकै छुइँन, एकछिन गफ गर्न तँसँग मात्तै आएको । बाहिर केही नभने पनि भित्रभित्रै मेरो उपहास गर्छन्, उडाउँछन् । कम्तिका छन् यी जालीहरू !’

मैले बुढालाई भनें– चिप्लो बाटामा लड्दा र चुनावमा हार्दा लाज हुँदैन । जुनसुकै बेला जो पनि लड्न सक्छ । हार्दा–लड्दा हाँस्नु उपहोस् गर्नुको सट्टा सहानुभूति र सहयोग सबैले गर्नुपर्छ । चुनावमा हार्ने मान्छेको उपहास गर्ने, धज्जी उडाउनेहरू मूर्ख हुन् । चुनावमा उठेपछि हार–जीत त भइहाल्छ नि ! उठेका सबैले त कहाँ जित्छन् त ! तपाईंले मुख लुकाएर हिंड्नु पर्ने कामै छैन । छाती खोलेर हिंडे हुन्छ । बुढा मान्छेलाई एकपटक रहर पुर्याउन दिएको भए हुन्थ्यो, त्यो मर्म बुझेनछन् । के गर्नु, त्यो राजनीतिको व्यहोरा नै त्यस्तै हुन्छ । अरूले फकाएकै भरमा उठ्नु हुँदैनथ्यो, तपाईं पनि हौसिनु भएछ । त्यो महाधिवेशनमा नजाँदा केही हुँदैन । घरमै बसेर टेलिभिजनमा हेर्नु ।

बुढाले भने– ‘हुन त तैले भनेको पनि एकप्रकारले ठीकै हो । त्यहाँ के हुन्छ, प्रतिनिधिहरूको हविगत कस्तो हुन्छ भन्ने कुरा महाधिवेशन नगए पनि बुझेकै हो । सबै काम कुरा पहिलै सिध्याएकै हुन्छन्, त्यहाँ गएर थप्पडी लाउने मात्रै हो । लडाइँ खेलेर लाइनमा बसेर, एक प्लेट भात र बोयलरको दुई–चार टुक्रा पाइने न हो । कसैले महाधिवेशनको मेलामा कोरोनाका भाइरस लिएर आएको रहेछ भने त्यसलाई बोकेर गाउँ–घरमा लिएर आउने हो । यहाँ स्थानीय तहमा साँढे भएर जितेर गएकाहरू त्यहाँ मुसोभन्दा साना हुन्छन् । न कसैले सोध्छ, न पुच्छ ! मान्छेको भीडमा धुवाँ धुला खायो, फर्कियो ।’…

‘यो वर्ष सबै पार्टीको महाधिवेशन हुने अरे ! यो कुरो पनि मलाई वाइयात लाग्छ । पार्टीको सभापति को हुने भन्ने स्पष्टै थाहा छ, उपाध्यक्ष र महासचिव पनि माहिला साहिलामध्ये एउटा हुने पक्का छ । तिनै मान्छे उनै अनुहार ! कुन पार्टीको को अध्यक्ष बन्छ भन्ने कुरो अहिल्यै सबै पार्टीको मै भन्दिन सक्छु । अन्य सदस्यहरू जो जो भए पनि केही हुनेवाला छैन । यी सबै पार्टीले महाधिवेशनमा गर्ने खर्चले देश विकासको कुनै काम गरे बरू लाभदायक हुन्थ्यो । कुनै पनि पार्टीमा नयाँ अनुहार आउनेवाला छैन । नाटक नौटंकी भन्थे नेताहरू, यो पनि त्यस्तै हो । बित्थामा पार्टीभित्र हल्लाखल्ला, पार्टीको आन्तरिक चुनावले मनमुटाव, आपसमा छलछाम, होहल्ला र समयको बर्बादी !’

मैले भनें– आफ्नो पार्टीको मात्रै होइन, अन्य सबै पार्टीको सभापति वा अध्यक्ष को को हुन्छन् भन्ने महाधिवेशनभन्दा अगाडि नै कसरी जान्नु हुन्छ होउ माइलाबा ? प्रतिनिधिमा चुनिएर छानिएर गएकाहरूले कसलाई गोप्य मतदान गर्छन् भन्ने कुरो जान्ने तपाईं अन्तरयामी हो ? कि तपाईं ज्योतिषी हो ? अध्यक्षमा को को कति जनाले प्रतिस्पर्धा गर्छन्, कसरी कसरी भोट मागेर प्रतिनिधिहरूलाई पगाल्छन् ? बीचबीचमा कति चङ्खे चतुरेहरूले उरालधुराल गर्छन्, कसका पैसा पाखुरा पहुँचले चाकाचुली घुमाउँदा को पछारिएर कता पुग्छ ? कसले ललिपप चाट्छ, कसले धुलो चाट्छ; महाधिवेशन नभइकन त्यहाँ नगइकनै को अध्यक्ष बन्छ र के के हुन्छ भनेर तपाईं कसरी भन्न सक्नु हुन्छ ?

बुढाले एकछिन मेरो मुखमा गौर गरेर हेरे अनि भने– ‘तँ मभन्दा दुई चार अक्षर बढी नै पढेको मान्छे केही कुरा त बुझेको होलास् र देशदुनियाँ, नेताहरूको गति मति प्रवृत्ति केही बुझेकै पो रैनछस् । यो गणतन्त्राँ नेता भनेका राजा हुन् । राजाले कहिल्यै हार्छ, कसैले हराउँछ ? नहार्ने जुक्ति बुद्धि बल तजुग उनीहरूले साँचेर राखेका हुन्छन् । अहिले जुन जुन पार्टीमा जो जो अध्यक्ष ÷सभापति छन्, महासचिव सचिवमा जम्जमाउने दुई–चार अनुहारमध्येकै मान्छे महाधिवेशनपछि सोही–सोही पदमा आउँछन् । नाटक गरेर पैसा धुल्याउने काम मात्रै हो महाधिवेशन । अरू केही होइन ।’

मैले भनें– सबै कुरा थाहै रहेछ त, चुनावमा हराए भनेर किन होद्रिएर बस्नु ? किन झोक्राउनु र किन दुनियाँका अगाडि मुख लुकाउनु ? मान्छेको भीड र रमिता नै हेर्न मन लागेको भए जान पाएकै छ । तपाईं पनि बित्थामा मन कुँड्याएर हियो डढाएर बस्नु हुन्छ । तपाईं सत्तरी वर्ष नाघेको मान्छे, कार्यकारी समितिमा उक्लिने योग्यता समाप्त भएको मान्छे, गाउँघरमा हामीले मात्रै चिनेको देश विदेशले नचिनेको मान्छे तपाईं चुनावमा चम्किएर उठ्नै हुँदैन थियो । पहिले गल्ती गर्नुहुन्छ, पछि पछुताउनु हुन्छ ।

बुढा अलिक रिसाएजस्ता देखिए । नाकका पोरा फुलाएर, आँखा गोलभेँडे बनाएर, धोद्रे स्वर निकाल्दै उनले भने– ‘हैन एइ केटा ! तैले मलाई अलिक शब्द मिलाएर थाहा नपाउनेगरी गाली गर्न खोजेको हो कि क्या हो ? सत्तरी वर्ष नाघ्नु मेरो दोष हो ? अबका बीस वर्षपछि तँ पनि सत्तरी नाघ्छस् । अनि के सत्तरी वर्ष काटेपछि मान्छेको योग्यता सकिने हो ? उता स्वर्गतिरको योग्यता बढ्दै जाने हो ? हन के भन्न खोजेको ? जे पायो, त्यही बोल्नु हुन्छ ? पहिले कहिले हो, सचिवहरू र न्यायाधीशहरूले उमेर घटाउँदै जागिर लम्ब्याउँदै गरेको घटना तैले बिर्सिएकै हो ? उमेरकै कुरा गर्छस् भने तँभन्दा कान्छो उमेरको प्रमाणपत्र बनाएर ल्याउन सक्छु म । तैले देश चिनेकै छैनस्, तँ केटाकेटी नै छस् । तैले मलाई चुनावमा किन उठेको भनेर हप्काइस् । सबैले उठ कि उठ भने, तपाईंले जित्नु हुन्छ भने, तपाईं बुढो पुरानो सिनियर इमानदार… के के भने होला तानि भनेर उठेँ म पनि । मलाई उठाउँदा कस्को भोट काटिएर कस्ले जित्छ भन्ने म बुढो मान्छेलाई के थाहा ? कस्लाई जिताउन र कस्लाई हराउन पो मलाई उठाएका रहेछन् धूर्तहरूले । म सोझो मान्छेले कसरी भेउ पाउनु ?’

मैले फकाउने विचार गरेर भनें– हैट के भनेको त्यस्तो । म तपाईंलाई गाली गर्न सक्ने मान्छे हुँ ? धन्न चुनावमा हार्नु भएछ, यो जाडोमा मान्छेको कोलाहलभित्र, यो उमेरका मान्छे सुरिएर महाधिवेशनमा जाँदा मैले कस्लाई माइलाबा भन्नु भनेर पो डराएको त ! मैले चाहिँ डराउन पनि नपाउनु ? तपाईंलाई चुनावमा हराएर जयकल्याण गरेछन् । यो तपाईंको हार होइन, जीत हो । महाधिवेशनको तमाशामा सामेल हुनुभएको भए तपाईं जस्तो सोझो सज्जन इमान्दार कार्यकर्ताको कलेजो हुरहुरी जल्ने थियो । यतातिर माइलेमा एक्लै पर्ने सम्भावना बढ्ने थियो । महाधिवेशनमा चङ्खे चतुरे तिघे्र पाखुरेहरूको साँढे–जुधाइमा तपाईं कता किचिनु पिसिनु हुन्थ्यो । पहिले पनि तपाईं दुई–दुई पटक गाससमा हारेकै हो, अरू एकपटक महाधिवेशन प्रतिनिधिमा हार्नुभयो । अब यही हारको माला लाएर चित्त बुझाउनु होस् । लाज मानेर मुख लुकाएर हिंड्नै पर्दैन ।

बुढाले भने– ‘केही कुरा तँलाई बिसाएर शान्ति पाइन्छ कि भनेको लाग्याथ्यो, तर तैले त झन् घाउको पाप्रो उप्काउने काम मात्रै गरिस् । तेरो पनि छाँट मलाई ठीक लागेन । तैले पनि मलाई मर्ने मान्छेकै पाइपलाइनमा छिराइसकेको रैछस्; यस कुरामा मेरो मन सारै कुँडियो । चुनाव हार्दा लाज हुँदैन भन्ने कुरा चाहिँ तैले ठीकै गरिस् । चुनाव जितेका भन्दा हारेकैले देशमा दग्दी मच्चाएका छन्, कोही अर्को बाटोबाट सांसद बनेका छन् । कसैले अनेक चाँजो र वचन मिलाएर प्रधानमन्त्री नै पड्काएको विगत हामीसँग छ । राजनीति सज्जन र इमानदार मान्छेका निम्ति अभाव हुँदोरहेछ भन्ने ज्ञान बुढेसकालमा आएर प्राप्त भयो’ भन्दै खुइय गरेर बुढा आफ्ना बाटो लागे । मेचीखबर साप्ताहिकबाट

Facebook Comments Box
 

फेसबुक