राजनीति शीर्ष खबर

कसले दियो रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी ?

काठमाडौैं, ८ असार । स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ।

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता रनिर्देशक समेत रहेका अभियानका सदस्य मनोज पण्डितसमेत उजुरी दर्ता गराउन आयोग गएका थिए।

रवि लामिछानेले हिजो (मंगलबार) राष्ट्रिय सभागृहमा गरेको एक कार्यक्रममा राजनीतिमा प्रवेश गरेको र त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल खोलेको घोषणा गरेका थिए। उनले हिजै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिएका दिए।

उजुरीबारे अभियानले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। अभियानको विज्ञप्तिमा ‘२०७९ असार ७ गते विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भिर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशै भरी स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति–समूह रसंस्थालाई गम्भिर आघात पुगेको’ आरोप लगाइएको छ।

अभियानको विज्ञप्तिमा ‘संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनीतिक पार्टीमा आबद्ध नरहेर स्वतन्त्र रहन र निर्वाचनमा स्वतन्त्रकै रुपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ। कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको’ लामिछानेविरुद्ध आरोप लगाइएको छ।

यसैगरि विज्ञप्तिमार्फत अभियानले लामिछानेले घोषणा गरेको राजनीतिक दलको नामले स्वतन्त्र उम्मेदवारप्रति सर्वसाधारणको बढ्दो आकर्षणको लोभले दूषित र अवसरवादी मनसाय राखेको तथा यस्ता अवसरवादीलाई मतदातालगायत सबैले चिन्नुपर्ने समेत जनाएको छ।

‘स्थानीय तहको निर्वाचनको दौरान राजनीतिक पार्टीप्रतिको वितृष्णा तथा निर्वाचनको मत परिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुट्ठीमा कब्जा गर्ने दूषित मनसाय र कथित अवसरवादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवं सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ। परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे तापनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु’ अभियानका संयोजक साहुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशैभरि स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिने कुनै पनि स्वतन्त्र उम्मेदवारको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन–सहकार्य नरहेकोसमेत जानकारी संयोजक साहुले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक