समाज स्थानीय खबर

झापामा जुवाले घरबार उठीबास, मिटर ब्याजीले ज्यान नै लिने सन्त्रास !

झापा, ३ साउन । झापामा जुवा खेलाउने र सोही समुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ ।

जुवा खेलाउने समुहले आफै उस्काउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पीडितहरु बताउँछन् ।

झापा गाउँपालिका–३ सिमलवाडीका ४० वर्षीय अशोक राईको अहिले जुवाले सर्वस्व गुम्नुका साथै ज्यानै जोखिममा परेको छ । आफूले लिएको पैसाका मिटरब्याजीहरुले अनेक हत्कण्डा अपनाएर उनलाई घर न घाटको बनाउनुका साथै ज्यानै जोखिममा परेको उनी बताउँछन् । सोही क्रममा चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समुह नै बिहान घरमा राईलाई पक्रन आयो । त्यसपछि गाउँलेसग झडप भयो । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर व्याज काण्ड थाहा पाए । केही समय अघि उनलाई दमकको एक होटलमा मरणासन्न हुने गरी कुटपिट गरे । एउटा चेकमा बनाउन लगाए । “मरणासन्न हुनेगरी कुट्यो, कानको जाली फुटेर बिएण्डसीमा उपचार गराएँ, धरानमा पनि एक साता बसे’, राईले भने, ‘दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ति गयो, अहिले ज्यान नै जोखिममा परेको छ ।”

झडपछि पक्राउ गर्न आउने दमक–५ का विशाल पौडेल सामान्य घाइते समेत बनेका छन् । सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिबार बिहान राईको घरमा विहान ४ बजेको समय पुगि जवरजस्ती राईलाई लैजान खोजेपछि घर परिवार र स्थानीयबासीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताए ।

दमकका नामुक जुुवा घरका संचालक समेत रहेका पुर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काटन लगाएको पिडित अशोक राईले आज पत्रकार सम्मेलनको आयोजना गरि बताउनुभएको छ ।

कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रमकको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारेर राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बुले बताउनुभयो । दमकको रिजाल लगायात सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल लगायातले खेलाएको जुवा खालबाट आफुले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताउनुभयो । आफुले यस बीचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पिडित राईले बताउनुभयो ।

सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुवा खेलाउने गिरोहसग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ ।

इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताउँनुभयो । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसग संचार सेटबाट समन्वय गरेको समेत गिरीले बताउँनुभयो ।

यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्नीमा परिसकेको भन्दै यस्ता अपराधिक समुहको सरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । ‘मसग भएको सबै सम्पत्ति पनि सकियो अझै पनि चेक बाउन्स भनेर दुख दिने काम भइरहेको छ यही तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन’, राईले भने । महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक