विचार

लोकको मौनता : आँधीअघिको सन्नाटा ?

नकुल काजी
‘राजनीति’–को अनादि परम्परागत परिभाषाले त्यस शब्दलाई ‘नीतिहरूको राजा’–ले शोभित गरेको बुझिने चलन पनि अनादि नै हो । तर, त्यो परिभाषी–चक्र यो नितान्त वर्तमानमा उल्टो घुमिरहेको छ र ‘राजनीति’ शब्दको मौलिक स्वरूपलाई नै शतशः कुरूप बनाउँदै लगिएको छ ! अर्थात्, राजनीतिलाई पेशा–व्यवसायको पर्यायरूपमा बुझ्ने चलन सप्रिएर झाङ्गिदै गइरहेको क्रममा अहिले जालझेलरूपी भाला–बल्छीका अतिरिक्त भाडादारी खेतालेहरूको ठूलो भीड एवम् आर्थिक र पाखुरे बल समेतको प्रयोगले ‘लोक’–लाई तर्छाएर–बल्झाएर तिनको सहमति नामे करकापे स्वीकृति कुम्ल्याउने अनि राज्य–व्यवस्थाको शासकीय ओहदा हत्याएर आफू र आफ्नाहरूलाई वैभवी तुल्याउने बलियो माध्यम मात्रमा खुम्चिन बाध्य भएको छ –बबुरो ‘राजनीति’ !

‘राजनीति’–को उपर्युक्त बमोजिम खेलोफर्काेको व्यवसायमा सम्पृक्त तत्वहरू नै आफूलाई ‘राज्य’–को एकाधिकार सारथि ठान्छन् र राज्य–व्यवस्थालाई स्वेच्छाले हाँक्छन् । बडाले जो ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत । छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित…। कवि शिरोमणि लेखनाथको यो काव्य–सूक्तिको भावभूमि जस्तै छ, प्रायः अत्यधिक बहुसङ्ख्यक लोक–दुनियाँको संस्कारगत बोध–मानसिकता ! यसकारण उनीहरू देशका ‘ठूला’ मान्छेलाई आँखा चिम्लेरै ‘बडा’ मान्छन् नै ! नेपालको सामाजिक मनोविज्ञानमा त यस्तो भावको वंशानुगत संक्रमण जो हुँदै आएकै छँदैछ ।

नेपाली राजनीतिको वर्तमान परिप्रेक्ष्यमा त, त्यसरी–त्यसरी देशका ठूलाठालू वा ठूलाबडाहरूका जस्तासुकै झ्याउरा–झ्याउरी अथवा झुसेझुसी स्वास्नी–छोराछोरी र नातागोताका भए पनि उसलाई श्रेष्ठतामा प्रतिष्ठापित गरिने चलन नै बसिसकेको प्रतीति गणतन्त्रोत्तर हुन थालेकै छ ! तिनीहरूको त्यस्तो उच्च मूल्याङ्कन हुने पूर्ण–सम्पूर्ण ‘योग्यता’ भनेको ‘राज्यशक्ति अँठ्याएर बस्ने’–हरूसँगको ‘नाता–साइनो’ भन्दा बढ्ता रत्तिभर केही हुँदैन । हुन्छ भने ‘नाता–सम्बन्ध’ भजाएर समृद्धि र वैभव बटुल्ने प्रकारान्तरको उदरम्भी दरिद्री !

एउटी महिलाबाट उससँग गाँसिएको उसको बाबुको नाम घटाइदिने हो भने शून्य (०)रहला, तापनि ऊ आफूलाई नेतृमा दर्ज गर्दै हिँड्न लजाइरहेकी देखिँदिनन् ! एउटा हदैको उरन्ठेउलो लाठेले बाबु ‘भयङ्कर डरलाग्दो नेता’ भएको तुजुक देखाउँदै जाँड–रक्सी बढ्ता धोकेर ज्यान फालेको थियो । जानकारहरूबाट प्रकटित यो तथ्य सहस्र लोकले पनि रिट्ठो नबिराई बुझेको छ । तर, उसलाई यशस्वी पुरुषमा दर्ज गराउने सत्तारुढ अहमत्याइँवश हजारौं वास्तविक यशस्वीहरूका आँखाभरि देखाएरै निजको प्रतिमा खडा गरी अनावरण गरिन्छ ! सरकारभित्र अँटाएर हुकुमी ठालू बनिरहेको एउटा नेताकी अनभिज्ञ (विशुद्ध गृहिणी) श्रीमतीलाई राष्ट्रको उपल्लो गौरव मानिने मान–पदवीले विभूषित गरेर स्वयम् सो मान–पदवीको चाहिँ घनघोर अपमान गरिन्छ । ती महिलाबाट राष्ट्रले के पायो भन्ने खोजीगर्ने, मानौं ‘पार्टीका मतदाता’–मा अघोषित अनुवादित भई ‘राणाकालीक रैतान’ सरह बनेका नेपालीको, आँट नै कहाँ छ र !

एउटा राष्ट्रिय शासककी प्राविधिक श्रीमती चुनाव जितेर आफ्ना पतिको स्थान लिने, सम्भवतः पतिकै सल्लाह अनुसार, ध्याउन्नमा थिइन् । त्यो दुस्साहस केही दिनयता अलिकति भिमलाएको छ, तापनि त्यस्तो दुस्साहस अनेक योग्य पात्रहरूको भीडमा ‘खाँडीको टोपीलाई गुहेलाको फूल’ भने झैं प्रतीत हुनु नेपाल र नेपालीको दुर्भाग्यै थियो !

‘ठूला’ वा ‘बडा’–का स्वास्नी–छोराछोरी र नाता–कुटुम्बले व्यक्तिगतरूपमा आफ्नो अभिभावक ‘देशको ठूलोठालो’ हुँदा गौरवगर्नु अस्वाभाविक ठहर्दैन । तर, त्यसबाट मात्तिएर–पात्तिएर त्यो स्वाभाविक आत्मगौरवलाई राजनीतिक महत्वाकांक्षामा लहराउनु चाहिँ, यो युगको सन्दर्भमा, अक्सर असौम्य मात्र होइन, तौजी मिलेन भने झन्नै–झन्नै आत्मघाती नै हुन सक्छ । अनेक निष्ठावान र आफ्नै बल–बुताले योग्यहरूको तेजोबध गरेर ‘नातै मात्र कूल–जम्मा योग्यता’ ठान्ने तुजुके–रौसेहरूले आफू धन्य बनेको आत्मश्लाघाले हिजैमात्र श्रीलंकाका ऐय्याशी नेताहरूलाई कहाँबाट कहाँ पु¥यायो, आजभोलि बांगलादेशका नेताहरूले के भोग्न पर्दैछ वा इथियोपिया,सोमालिया, रुमानिया, युगाण्डा, तान्जानिया आदि देशमा के–के नहुनपर्ने भएका थिए……!! इत्यादि नजीरहरूतिर हेर्न दिएको किन देखिँदै छैन ? कुन्नि, दैवले नै जानोस् । जान्ने रैती थान्काको यो रैतीले जानेको के मात्रै हो भने– यो वर्तमानको ‘धोबी गाउँले’ शैलीको राजनीतिक खैलाबैलाले देशलाई भड्खालतिर लगिरहेको छ । यस बारेमा अहिले रैतानी भोगिरहेका नेपाली मौन छन् भनेर झन्–झन् थेत्तराइँ र स्वेच्छाचारिता बढाइरहेकाहरूले त्यो जन–मौनता आँधी आउनअघि आकाशमा प्रकीर्ण सन्नाटा पनि हुनसक्तछ भन्ने बुझ्न जरुरी छ ।…

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक