विचार समाज

राजनीतिक अलमलमा युवा

विरोध सुवेदी
विश्व परिवेशसगँ सात्क्षात्कार गरिरहेको नेपालका आजको युवा पुस्ता आफ्नो मुलुक पनि आजका बिकशित मुलुकहरुसगँ बिकासका सम्पूर्ण सुचाङ्कमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने चहाना राख्छ । चहाना पुरा नहुने देखे पछि चरम असन्तुष्टि बिभिन्न तरिकाले व्यक्त गरिरहेको छ । यहीँ दशक युवाहरुको असन्तुष्टिका कारण बिश्वका विभिन्न देशहरुमा बिद्रोह जन्मिएको साक्षी हामी छौँ।अरब राष्ट्रहरुको स्प्रिङ अरब आन्दोलन , चिलीको बिद्यार्थी आन्दोलन , हङकङमा प्रजातन्त्रका लागि भएको आन्दोलन आदिमा व्यवस्था बिरुद्धको युवा असन्तुष्टि व्यापक रुपमा देखा पर्यो । हाम्रो देशमा पनि उत्तरराणाकालमा व्यवस्था बिरुद्ध अनेक संघर्षको नेतृत्व युवाहरुले लिए। अहिलेको राजनैतिक दलको स्थापित नेतृत्व यिनै व्यवस्था बिरुद्धको संघर्षहरुबाट जन्मिएको हो । अब अहिलेको युवा असन्तुष्टिले कस्तो रुप लिन सक्ला ? स्प्रिङ्ग अरब जस्तो आन्दोलनले जन्म लिन सक्ला कि प्रजातान्त्रिक प्रकृया बाट युवा नेतृत्व को बिकास होला ?

आन्दोलनको श्रृङखलाको अन्त्य
देशमा जनभावना अनुरुपको संविधान जारी भएको र सार्वभौमसत्ता जनताको हातमा आईसके पछि अब राज्य शक्ति र शासक बिरुद्धको आन्दोलनको औचित्य समाप्त भईसकेको छ । यो युवा असन्तुष्टिले कुनै आन्दोलन जन्माउने सन्देह नरहे पनि समाजलाई स्थायित्व तर्फ भन्दा अस्थिरता तर्फ डोर्याउने संकेत देखा पर्दैछ ।

दलको विकल्प दल
संबिधानले बहुदलिय व्यवस्था सुनिस्चित गरिसकेको छ । दलको बिकल्प दल नै हुन सक्छ । काङ्ग्रेस , एमाले लगायत पुराना दलहरुले , श्रमजिवी , सर्वहारा , किसान, मजदुरलाई समेट्न सकेनन् भनेर माओवादिको जन्म भयो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा त्यो जन्म भएको दलले जन्म दर्ता प्रमाण पत्र पायो । उक्त दल स्थापित भएको एक दशक बित्न नपाउँदै ७० को दशकको सुरुवातबाटै नयाँ दलहरुले जन्म लिन थाले । केही नेताहरुले नयाँ शक्तिको आवश्यकता देख्न थाल्नु भयो , साझा पार्टीहरु बैकल्पिक शक्तीको रुपमा देखा परे,। राजनीति भन्दा भिन्न क्षेत्रका तमाम युवाहरुलाई समेट्दै बिबेकशिल पार्टी गठन भयो । क्षेत्रिय दलहरु देखा पर्न थाले , मधेसले पनि आफ्ना आवश्यता , मर्म बुझ्न पुराना दल काबिल नभएको भनी नयाँ शक्ति निर्माणमा लागे । नयाँ दलहरुसगँ युवा अपेक्षा धेरै थिए । तर त्यसको एक दशक पछि पुन युवा असन्तुष्टि त्यहि ठाउँमा छ । अब नयाँ दलहरु तर्फ र स्वतन्त्र तर्फ लम्किरहेको छ अपेक्षाहरु । हरेक निर्वाचनमा नयाँ दलको वा राजनिति भन्दा बाहिर बाट स्वतन्त्रको रुपमा राजनितिमा आउनेहरुको आवश्यकता पर्दै जाने हो भने हाम्रो यात्रा कहाँ पुगेर टुङ्गिएला ? दलहरुको दलदलमा देश जाकिने खतरा रहन्छ , हाम्रो बिकासको चाहना तुहिने सम्भावना रहन्छ ।

स्वतन्त्र उमेद्वार प्रतिको अपेक्षा
यो लेख लेखिरहँदा हामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको संघारमा छौँ । सामाजिक सञ्जालहरुमा राजनितिमा स्थापित नामहरु भन्दा नयाँ दल वा स्वतन्त्रहरुले बढि सहानुभूति प्राप्त गरिरहेका छन् र पुराना दलमा पुराना अनुहारहरु बहिस्कार भन्ने नारा गुञ्जिएको छ ।

स्वतन्त्र उमेदवारहरुले पनि व्यवस्थापिकाको सदस्यको रुपमा हुनु पर्ने आफ्नो भुमिका बारे भन्दा पनि कार्यपालिकाको सदस्यको रुपमा प्रचार गरिरहेका छन् । यो सुझबुझको कमी हो या लोकप्रियताको निम्ती यस्ता नारा आवश्यकता हुन ?

अन्यौलपुर्ण व्यवस्था
हाम्रो राज्य व्यवस्थामा कार्यपालिका र व्यवस्थापिका बीच रहेको सम्बन्धले पनि मतदातालाई निर्णय गर्न संकट उत्पन्न गरेको छ ।घोषणापत्रमा उल्लेखित बाचा पूरा गर्न सरकार बनाउनु पर्छ जसका लागि संसदमा कुनै दलको बहुमत पुग्नु अपरिहार्य हुन्छ जसका लागि सम्बन्धित दलको अधिकतम उमेद्वारलाई बिजयी बनाउनु पर्ने हुन्छ । सम्बन्धित दलको उमेदवार भन्दा भरोसा योग्य उमेद्वार अर्को हुदाँ हुँदै पनि बहुमतका लागि दलकै उमेदवारलाई बिजय गराउनु पर्ने हुन्छ ।कार्यपालिका तर्फ सरकार प्रमुख प्रत्यक्ष निर्वाचित हुने वा अन्य कुनै व्यवस्था गरिएमा व्यवस्थापिका तर्फ बिचारहरुको धनी उमेदवारको मुल्यांकन गरेर मतदान गर्ने अवस्था बन्ने थियो ।

नो मोर एगेनको औचित्य
दाग हाम्रो अनुहारमा छ , हामी ऐना पुछिरहन्छौँ । राजनैतिक दल हाम्रो समाजको ऐना हो । हामीले कुनै दल विशेष वा दलको नेतृत्व विशेष बिरुद्ध मतदान नगरौँ भन्ने सन्देश फैलाउनु भन्दा पनि सो व्यक्ति भन्दा सक्षम व्यक्तिलाई प्रतिस्पर्धी सक्दा सकारात्मक् नतिजा आउन सक्छ । बिकासको भिजन बनाउन उमेर बाधक बन्छ भन्ने बुझाइ बैज्ञानिक बिचार हो भने त्यसमा विमर्श गर्न सकिन्छ । तर कुनै उमेदवारले संसदमा वा सरकारमा हाम्रो अपेक्षा अनुरुप काम गर्न नसकेको हो भने हामीले अर्को सक्षम व्यक्तिलाई प्रतिस्पर्धी बनाएर बिजय गराउनु पर्छ । तर राजनैतिक दलको नेता बाहेक जो सुकै पनि नेतृत्व लिन सक्षम हुन्छ भन्ने बुझाई भयो भने यसले अस्थिरता उत्पन्न गर्न सक्छ ।

अबको बाटो
प्रजातन्त्रमा राजनैतिक दलको अस्तित्व अकाट्य सत्य हो । हाम्रो जस्तो राज्य व्यवस्थामा व्यवस्थापिकामा पनि कुनै दलको बहुमत हुनु अति आवश्यक हो । जस्ले कार्यपालिकाको नेतृत्व गर्ने छ । ग्लामर र मिडिया लोकप्रियताको लागि कुनै बिश्वबिद्यालयको पुस्ताकालयबाट सिधै मेयर , उपमेयर , सांसद बन्छु भन्दै आउनु भन्दा पहिले यहाँको समाज को अध्ययन गरेर कुन अवस्थामा छ बुझ्न अपरिहार्य हुन्छ । समाजको प्रतिनिधित्व दलहरुले गर्छन् । राष्ट्र बनाउने जिम्मा दलको हुन्छ भने दल बनाउने जिम्मा समाजको हुन्छ । दल समाजको साझा हो । कुनै पनि दल कुनै ब्यक्ती वा परिवारको हुँदैन । यी दलहरुमा हाम्रो पितापुर्खाको समय , रगत पसिनाको लगानी छ । हामीले अपनत्व ग्रहण गर्नु पर्छ । युवाहरु राजनितिमा आउनु पर्छ भन्ने भनाईलाई संशोधन गरेर युवाहरु आफ्नो बिचार सँग नजिकको राजनैतिक पार्टीमा आउनु पर्छ भन्ने बुझाईको आवश्यकता छ । बाटो, बिजुली, पानी मै अल्मलिरहेको हाम्रो बिकासको चर्चालाई फराकिलो बनाएर ।

आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ आयामहरु बारे अनुसन्धान, कार्यपत्र, रोडम्याप तयार गरेर विकासको बुझाइलाई फराकिलो बनाउनु पर्छ । यस्तो विकासको नेतृत्व गर्न पुरातन सोचले सम्भव हुँदैन, त्यहा समाजले सक्षम नेतृत्वका लागि परिक्षा लिन्छ । जस्मा उतिर्णहरुलाई निर्वाचन मार्फत सक्षमताको प्रमाणपत्र प्रदान गर्छ । आफ्नो सकृयता, योग्यता अनुसार पार्टिका समितिहरुमा, संसदिय मोर्चामा, स्थानिय तहहरुमा अवसर प्राप्त हुन्छ । यसरी दलहरुको दलदलमा फस्नु भन्दा भएका दलहरुमा सक्रिय प्रवेश गरेर दलको , समाजको प्रजातान्त्रिकरणसगैँ देशको मुहार फेर्न सक्ने आधार जिउदै छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक