राजनीति समाज स्थानीय खबर

महामन्त्री शर्मा : १४ वर्षमै जेल जीवनदेखि संसदीय यात्रामा

भद्रपुर, ८ मंसिर । झापा क्षेत्र नं. १ मा विजय भएसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संसदीय यात्रा शुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. १ मा नेकपा (एमाले) का स्थायी समिति सदस्य अग्नि खरेललाई पराकिलो मतान्तरले पराजित गरेसँगै महामन्त्री शर्माको संसदीय यात्रा शुरु भएको हो । उहाँले महामन्त्री शर्माले ३९ हजार ६२४ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार एमाले स्थायी समिति सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत प्राप्त गरी उपविजयी बन्नु भएको झापा क्षेत्र नं. १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो ।

पिता पर्शुराम र माता सावित्री शर्माका कान्छा सुपुत्र शर्मा झापा धुलाबारीका स्थायी बासिन्दा हुनुहुन्छ । शर्मा १४ वर्षको कलिलो उमेरमै धुलाबारी माध्यमिक विद्यालयको कक्षा–९ अध्ययनरत रहँदा पहिलो पटक जेल पर्नुभएको थियो । नेपाल विद्यार्थी संघ (नेविसंघ) धुलाबारीको इकाई सभापति बनेसँगै राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । शर्माले स्नातकसम्म अध्ययन गर्नुभएको छ ।

सानैदेखि विद्रोही स्वभावका शर्मा विपीका अनुयायी शर्मा नेविसंघ भद्रपुर क्याम्पसको सभापति, नेविसंघ झापा सभापति, नेविसंघको महामन्त्री र सभापति समेत बन्नुभयो । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा शर्मा पार्टीको केन्द्रिय सदस्य बन्नुभयो । हाल शर्मा कांग्रेसका निर्वाचित महामन्त्री हुनुहुन्छ ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेका रविन कोइरालासँग पराजित हुनुभएका शर्मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का राम कार्कीसँग पराजित हुनुभएको थियो । तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा महामन्त्री शर्माको पक्षमा जनमत आएको छ । भौतिक प्रगति मात्रै विकास नभई समाज रुपान्तरणलाई विकासको मापन भएको सोच राख्नुहुने शर्मामा नेपाली राजनीतिक वृत्तमा प्रभावशाली नेता हुनुहुन्छ ।

शालीन, सभ्य र वाककलामा अब्बल शर्मा ५२ वर्षीय शर्माले राजनीतिक परिवर्तन सकिइसकेकाले अब राजनीतिमा परिवर्तन हुन जरुरी रहेको धारणा राख्नुहुन्छ । तीन दिन पार्टी र चार दिन रोटीका लागि खर्चनुपर्ने अवधारणा उहाँको छ । त्यस्तै, एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मान्त्री र चार पाटक सांसद बन्ने पर्ने अडान राख्नुहुन्छ ।

महामन्त्री शर्माका पत्नी कवितासँगै एक छोरी स्वीकृति र एक छोरा शीर्षप्रकाश रहनुभएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक