
झापा, १७ असोज । महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान बर्दिवास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहान ७ बजेतिर ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो ।

भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको हो ।
‘दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ’, डीएसपी भट्टले भने। खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विवरण प्राप्त हुन बाँकी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

