
बिर्तामोड, १७ असोज । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
गत असोज ८ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी भद्रपुर नगरपालिका–४ तारानगरकी ४ वर्षीया बालिका इन्दु रायमाझीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

बालिकालाई तारानगरस्थित भित्री सडक खण्डमा प्र.१–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल लगिएको थियो ।
उपचारका क्रममा आज बिहान ७ः४० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

