
इटहरी, १० असार । सुनसरीको धरान उप-महानगरपालिका–२० बिष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स(साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छाला सहितको सिंग २ थान बरामद गरेको हो ।
लागुऔषध तथा जंगली जनावरको अंग समेत बरामद भए संगै उक्त टेम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका–१ घर भई धरान–११, बस्ने २९ बर्षीय नन्दीमान राई, सोही टेम्पोमा सवार सहिदभुमी गाँउपालिका–१ घर भई धरान(११, बस्ने १९ बर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका(२ ताप्ली घर भई धरान(११ बस्ने २० बर्षीय सागर राईलाई समेत पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनाएको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा जंगली जनवारको सिंग र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

