काठमाडौँ, २७ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् ।
हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’
मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा राख्ने समय पनि सकिँदै थियो’, एसपी कडायतले भने, ‘मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण पनि पुगेन ।’ दिलीपसिंह विष्टलाई उनका दाजु खड्गसिंह विष्टको जिम्मा लगाएर छोडिएको छ । विष्टमाथि अनुसन्धान भने जारी नै रहने कडायतले बताए ।
निर्मलाको डीएनएको प्रोफाइल र दिलिपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि उनलाई मुद्दा चलाउनुपर्ने कारण नदेखिएको प्रहरीले जनाएको छ ।
निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट पठाएको हो । ‘विष्टको स्वास्थ्य परीक्षणको रिपोर्ट भन्न नसकिने भन्ने आएको छ’, एसपी कडायतले भने, ‘झुटो बोल्ने र डायग्नोसिस गर्न नसकिने भन्ने उल्लेख छ ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।