बिर्तामोड, २१ माघ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ ।
सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।
छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ । यो संस्करणमा कम्तिमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ । सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।