शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा शिवसताक्षी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाउने छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका, २०७० पाँचौ संशोधन २०८० अनुसार शिवसताक्षी नगरपालिकामा स्थानीयस्तरमा संचालन हुने प्रतियोगिता सञ्चालन तथा ब्यवस्थापन समितीको संयोजकमा नगर प्रमुख श्री मेगाहाङ्ग थोप्रा रहेका छन् ।
त्यस्तै, प्रतियोगिता सञ्चालन हुने सम्बन्धित विद्यालयका प्रधानाध्यापक रमेशकुमार दहाल सदस्य सचिव छन् । शिक्षा शाखा प्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रहरी प्रमुख, जिल्ला खेलकुद समितिको प्रतिनिधि, सामुदायिक र संस्थागत विद्यालयको शिक्षक, सम्बन्धित खेल संघका प्रतिनिधि सहितको समितिको निर्णयानुसार आयोजना हुने खेलको औपचारिक उद्घाटन माघ २५ गते नगर प्रमुख मेगाहाङ थोप्राको अध्यक्षता तथा झापा क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुको प्रमुख आतिथ्यता सञ्चालन हुने शिवतसाक्षी नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदय राधाकृष्ण खनाल, नगर उपप्रमुख, सम्पूर्ण वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, विद्यालय प्रधानाध्याक लगायतको उपस्थिति रहने बताइएको छ । रनिङ्ग शिल्ड प्रतियोगितामा विजेता विद्यार्थी जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।