बिर्तामोड, २४ माघ। छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गरे ।
कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ । अहिले मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । टिमहरु निश्चित भएपछि केही दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।