पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन् २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो।
यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब सहारा क्षेत्रमा देखिएको छ। निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ।
निमोनिया के हो : न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज् एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।
जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ। ससाना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्।
लक्षण के के हुन्छन् : यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्।
यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ। अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ।
निमोनिया कसरी फैलन्छ : निमोनिया धेरै तरिकाबाट फैलन सक्छ। बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउनसक्छ।
तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ। निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्नसक्छ।
निमोनियाको उपचार कसरी गरिन्छ : यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।
धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ। तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ।
अस्पतालमा मानिसहरूलाई साधरणतया श्वासप्रश्वास सहज बनाउनका लागि अक्सिजनसँगै झोल औषधी र एन्टिबायोटिक दिइन्छ बिरामीहरूको छातीको एक्स–रे गरिन्छ र अन्य अवस्था पत्ता लगाउन रगत पनि जाँच गरिन्छ।
निमोनिया हुनबाट कसरी जोगिने : यसबाट जोगिनका लागि तपाईँले केही कदमहरू चाल्नुपर्ने हुन्छ। फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ।
तर अमेरिकाको न्यास्नल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार खोपले मात्रै निमोनियाका सबै सङ्क्रमण रोक्न सक्दैन। खोप लगाएका मानिसहरूलाई समेत निमोनिया हुनसक्ने भए पनि खोप नलगाएका मानिसहरूको तुलनामा खोप लगाएका मानिसहरूमा गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम हुन्छ।
उनीहरूलाई निमोनियाको लक्षण कम देखिने र लामो समयसम्म पनि नसताउने हुन्छ। सरसफाइमा ध्यान दिने९बारम्बार हात धोइरहने०, धूमपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ।
यूकेको न्यासनल हेल्थ सर्भिस एनएचएसले निमोनियाका कारण स्वास्थ्य जटिलताको उच्च जोखिममा रहेका मानिसहरूलाई निमोकोकल खोप लगाउन भनेको छ। यो खोपले केही ब्याक्टेरियाका कारण हुने मेनेन्जाइटिस र सेप्सिस जस्ता सङ्क्रमणबाट पनि जोगाउँछ। बीबीसीबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।