बिर्तामोड, २८ माघ । झापाको बाह्रदशी गाउँपालिकामा आगामी फागुन २१ गते ‘बृहत जनवादी गीति कार्यक्रम–२०८०’ हुने भएको छ ।
बाह्रदशी–५ स्थित सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रियस्तरको बृहत जनवादी गीति कार्यक्रम हुने भएको हो । जनवादी गीत–संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले जानकारी दिएको छ ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा पहिलो पटक आगामी कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।
सहिद प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दिगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गा घेराबारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्न, सहभागिता र सुनिश्चित्तता गर्ने लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
तत्कालीन पञ्चायतकालमा बेला गाइएका सदाबहार जनवादी गीतहरुलाई बाध्यबाधनका साथमा प्रत्यक्ष प्रस्तुति दिइने जनाइएको छ । कार्यक्रमका लागि अनुमानित खर्च तीन लाख ५० हजार आयोजकको अनुमान छ ।
सनलाइट म्युजिक स्टुडियो बिर्तामोडको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति दिनेछन् । सोही कार्यक्रममा जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने प्रतिष्ठानले जनाएको छ ।
पत्रकार सम्मेलनमा बरिष्ठ जनवादी गायक राजन राईले तत्कालीन अवस्थामा बोल्न नपाइने भएकाले गीत–संगीत, साहित्यिक रचनामार्फत् परिवर्तनका पक्षमा आवाज उठाइने गरेको बताउनुभयो । ‘जनतालाई सुसूचित गर्न जनवादी गीत गाइन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले व्यवस्था परिवर्तन भएपछि आधुनिकताले जनवादी गीत–संगीत ओझेलमा परेको छ ।’
पत्रकार सम्मेलनमा सनलाइट संगीत विद्यालयकी हेमा योञ्जन भण्डारी, प्रतिष्ठानका गायक गोपाल योङहाङ, भूपाल शिवाकोटी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण अनिल सापकोटालले गर्नुभएको थियो ।
यसरी सहादत प्राप्त गरेका थिए सापकोटाले
२०४३ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा बेजराज रेग्मी, गुरुप्रसाद मैनाली, चन्द्र योङहाङ, रुद्र शिवाकोटी लगायतका अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगीतका साथ खेलिएको देउसीभैलो घरदैलो कार्यक्रम तत्कालीन निरङकुश पञ्चायति व्यवस्थावादी समर्थकहरुको झुण्डले सुनियोजित तवरबाट आक्रमण गर्दा अग्रज कम्युनिष्ट कार्यकर्ता प्रजापति सापकोटाले सहादत प्राप्त गर्नुभएको थियो ।
प्रतिष्ठान स्थापना भएपछि हल्दीबारी–१ गोलधाप निवासी स्व. डुकमाया ढकालबाट २ कठ्ठा जग्गा दान स्वरुप प्राप्त भएको र विभिन्न दाता एवम् ऋण सापाटी समेत गरी थप २ कठ्ठा जग्गा खरीद गरी ४ कठ्ठमा प्रतिष्ठानको भवन निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ ।
![](https://jhapaonline.com/wp-content/uploads/2024/02/Manpower-ad-983x1024.jpg)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।