बिर्तामोड, २९ माघ । झापाको बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको चौथो अधिवेशनले दुई वटा विधेयक र सात वटा प्रस्ताव पास गरेको छ ।
बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा आइतबार आयोजित नगरसभामा विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले पेस गर्नुभएको फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संशोधन गर्ने विधेयक २०८० पास भएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले पेस गर्नु भएको चार वटा र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पेश गर्नु भएको तीन वटा प्रस्तावसमेत सर्वसम्मत पास भएको छ ।
नगर प्रमुख प्रसाईंले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन गर्ने, नगर भित्रका सडकमा प्रयोग गरिने पेवर्स ब्लकको गुणस्तरीय कायम गर्न नेपाल गुणस्तर चिह्न ‘एनएस’ प्राप्त पेवर्स ब्लक मात्र प्रयोग गर्ने, नगरपालिका क्षेत्रभित्र विगतमा पेवर्स जडान गरी निर्माण गरिएका १ सय मिटर भन्दा कमका अधुरा सडकलाई सम्बन्धित वडाको आगामी वर्षको सिलिङबाट ५० प्रतिशत र नगरपालिकाबाट ५० प्रतिशत लागत व्यहोर्ने र डिपिआर पास भएर प्रक्रियाको चरणमा रहेको देवीहाट बुधबारे बजारमा बहुतले पार्किङसहितको देवी कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषमा ऋण र अनुदान माग गर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।
उपप्रमुख संग्रौलाले आव ०८०÷८१ का लागि स्वीकृत योजना तथा कार्यक्रममा केही संशोधन तथा रकमान्तर गर्ने, विभिन्न मितिमा कार्यपालिका तथा नगर प्रमुखबाट निर्णय भई कार्यान्वयन भएका र उल्लेखित योजना तथा कार्यक्रम अनुमोदन गर्ने र स्वीकृत बजेट अनुसार लक्षित वर्गमा विनियोजित बजेटबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सात वटै प्रस्ताव सर्वसम्मत पास भएको हो ।
उपप्रमुख संग्रौलाले सभामा पुस मसान्तसम्मको अर्धवार्षिक समीक्षासँगै आम्दानी र खर्च पेश गर्नुभयो । नगरपालिकाले सो अवधिमा रू ५४ करोड १२ लाख ७२ हजार आठ सय छ आम्दानी गरेको छ भने चालु र पुँजीगत खर्च गरी रू ३५ करोड ३८ लाख ७२ हजार छ सय ८३ खर्च भएको जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।