
इलाम, ४ साउन । इलामको सूर्योदय नगरपालिका–५ समालबुङमा पहिराले चार परिवारको उठिवास भएको छ।
करिब दुई साता अघिदेखि सुरु भएको पहिराले मेची किनार टोलका लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र बेदप्रसाद देवानको करिब ४५ रोपनी जग्गा बगाएको छ। पहिरो घर नजिकै आएपछि प्रभावित परिवार नजिकैको गोठमा आश्रय लिन बाध्य भएका छन् ।

लालबहादुरका अनुसार पहिराले उनको अलैची र अम्रिसो बगान रहेको २० रोपनी, साखबहादुरको चियावारी रहेको २० रोपनी र बेल प्रसादको ५ रोपनी जमिन बगाइसकेको छ । असार २३ गतेदेखि लगातार तीन दिन पहिरो जाँदा चार परिवार विस्थापित भएका छन्।
सशस्त्र प्रहरीले पहिरोको अनुगमन गरे पनि पीडित परिवारहरूलाई रेडक्रसले कम्बल र त्रिपाल मात्र वितरण गरेको छ। तर, नगरपालिकाले पर्याप्त सहयोग नगरेको मेची किनार टोल विकास संस्थाकी संयोजक जयन्ती गिरीले बताइन् । गिरीका अनुसार तत्काल पीडितलाई सुरक्षित स्थानमा पुनर्वास गराएर दीर्घकालीन योजना बनाउन आवश्यक छ।
वडाध्यक्ष उर्गेन बम्जनले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तीन परिवारलाई सुरक्षित स्थानमा अस्थाई रूपमा सारिएको र संख देवानलाई सार्ने तयारी भइरहेको बताए। वडा कार्यालयले विस्थापित परिवारहरूको लागि राहत र पुनर्वासका लागि आवश्यक कागजी प्रक्रिया सकिसकेको र नगरपालिकाको विपत व्यवस्थापन समितिले अनुगमन गरी आवश्यक निर्णय लिने जानकारी पनि बम्जनले दिए।
नगर विपत व्यवस्थापन समितिका संयोजक राज कुमार सेरेङले प्रहरीको मुजुल्का आएपछि वडाध्यक्षसँग समन्वय भइरहेको र जिल्ला दैवीप्रकोप व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा प्रदेश र केन्द्रबाट सहयोग प्राप्त गर्ने तयारी भइरहेको बताए। नगरको कार्यविधि अनुसार, कर्कटपाता र आवश्यक अनुसार नगद १०–२० हजारसम्म दिने व्यवस्था गरिने पनि बताए। स्थानीय सरकारको प्रक्रियागत ढिलाईले पीडितहरू थप कष्टमा परेको गुनासो छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
