भद्रपुर, १४ साउन । फुटबलका पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ ।
झापाको भद्रपुर–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हिजो बेलुका निधन भएको हो । केही दिनदेखि अस्वस्थ रहनुभएका राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०२५ साल फागुन ५ गते जन्मनुभएका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य हुनुहुन्थ्यो भने एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुनुभएको थियो ।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसक्नुभएका राईले २०५६ सालमा फुटबल खेलबाट संन्यास लिनुभएको थियो ।
फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उहाँलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । स्वर्गीय राईको श्रीमती र दुई छोरी हुनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

