
कनकाई, १५ साउन । झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ ।
कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ ।

नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो ।
आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा विभिन्न योजनाका कामको अनुगमनका साथै अन्य विविध कामका लागि गाडीको अपुग भएपछि गाडी खरीद गरिएको आचार्यले बताउनुभयो ।
यसअघि नगरमा २ वटा गाडी भएपनि उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई पनि नगरकै कामका लागि गाडी नै आवश्यकता अनुसार प्रयोग गर्दै आइएको छ भने नगर प्रमुखले व्यक्तिगत गाडी प्रयोग गर्दै आउनुभएको छ ।
हाल नगरको नाममा जनप्रतिनिधि र कर्मचारीले आवश्यक अनुसार प्रयोग गर्दै आएको १७ मोटरसाइकल र ३ वटा स्कुटर छ्न् । त्यस्तै, नगरमा एउटा स्काभेटर, एउटा ट्याक्टर, एउटा ट्रिपर, जेसीबीसहित नगर एम्बुलेन्स तथा रेडक्रशबाट प्राप्त एम्बुलेन्स रहेको जिन्सी शाखाका प्रमुख भोजराज आचार्यले जानकारी दिनुभयो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आवश्यकताका आधारमा विद्युतीय गाडी खरीद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको प्राथमिकता नगरमा दमकल हो, यो पनि चाँडै ल्याउने छौं ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
