झापा, २९ साउन । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक जना महिला घाइते भएकी छन् । गएराति सोही स्थानका विष्णुप्रसाद अधिकारीको घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएर उनकी श्रीमती कृतिका अधिकारीले चोरसँग प्रतिकार गर्दा उनी घाइते भएकी हुन् ।
घरमा एक वर्षीया छोरी नित्यनि अधिकारीसँगै सुतिरहेको अवस्थामा चोर पसेको थाहा पाएपछि कृतिकाले चोरसँग प्रतिकार गर्दा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् ।
चोर घरभित्र पसेर दराजबाट अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान गरी जम्मा अन्दाजी ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको बताइएको छ ।
घरबाट देबर देउरानीको उक्त मूल्य बराबरको सामाग्री चोरले लगेको अनुसन्धानका क्रममा पत्ता लागेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्टले जानकारी दिए । डिएसपी बिष्टका अनुसार अधिकारीका देवरदेउरानी इलामतिरै बस्दै आएका छन् ।
चोरीको खबर आज बिहान ५ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराइएको थियो । जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको ५ जनाको प्रहरी टोली गएर चोरी भएको घरको अनुसन्धान साथै घाइते अधिकारीलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पतालमा लगेको र सामान्य उपचारपछि घर फर्किएकी प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।