दमक, ३० साउन । दमक नगरपालिकाले प्लास्टिकका झोला नियन्त्रणमा कडाइ गर्ने भएको छ । नगरपालिकाको वातावरण समितिले नगर क्षेत्रमा प्लाष्टिक नियन्त्रण गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक टेकबहादुर थापाका अनुसार नगरलाई स्वच्छ बनाउनका लागि २० माइक्रोन भन्दा कम मोटाइका प्लाष्टिक प्रयोग निषेध गरिएको छ । यसै गरि समितिले फोहोर जथाभाबी फाल्नेलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । नगरपालिका भित्र ध्वनि प्रदूषण नियन्त्रण गर्ने निर्णय समेत गरेको छ । पुराण विवाह तथा अन्य कार्य हुँदा अनिवार्य रुपमा वडा कार्यालयको अनुमतिमा मात्रै त्यस्ता कार्य गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
यस्तै बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बजार क्षेत्र भित्र दिउँसो ढुवानीका साधनलाई निषेध गरिएको थापाले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म ढुवानीका साधान नगर क्षेत्र भित्र प्रवेश गर्न पाउने छैनन् । पशु वधशाला सडक भन्दा दुरी कायम राखी मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरि गर्न समेत नगरपालिकाले निर्देशन दिएको छ । इन्टरनेटका तार साउन मसान्त भित्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।