

बिर्तामोड, ३ माघ । बिर्तामोड नगरअस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो ।
बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ ।

नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नि तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडि सेवा दैनिक उपलव्ध छ । यसैगरी २४ सै घण्टा नर्मल डेलीभरी सेवा, स्वास्थ्य विमा सेवा, भिडियो एक्स(रे, एक्स(रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ । २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरीएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
हाल १५ शैय्याको नगरअस्पताललाई स्तरोन्नतीको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ । १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा भवन निर्माणको काम भईरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगरअस्पताल २५ शैयाको हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।