
झापा, २२ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तास्केन्दको बुन्योदकोर रङ्गशालामा शनिबार भएको रोमाञ्चक खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।
कठिन शुरुआत, साहसी पुनरागमन पहिलो हाफमै ३–१ ले पछि परेको नेपालले दोश्रो हाफमा उच्च मनोबल प्रदर्शन गर्दै दुई गोल थप्दै बराबरी कायम गरेको थियो। उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयिमोभाले एक–एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोलले घरेलु टोलीको अग्रता बढायो। नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले २४औं, ७०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

टाइब्रेकरमा निर्णायक चुक पेनाल्टी सुटआउटमा उज्वेकिस्तानकी एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले सफल प्रहार गर्दै टोलीलाई पहिलोपटक एएफसी महिला एसियन कपमा प्रवेश गराउन सफल भए। नेपालका लागि गीता राना र सविता रानामगरले गोल गरे पनि सावित्राको प्रहार बारमा लागेर चुक्यो भने अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपरले रोकिन् ।
१० खेलाडीमा उज्वेकिस्तान पहिलो हाफको इन्जुरी समयमा एन। एर्गासेभा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफभरि १० खेलाडीमा सीमित बनेको थियो। सो स्थितिको फाइदा उठाउँदै नेपालले दबाब कायम राखे पनि अन्ततः पेनाल्टीमा चुक्दा अवसर खेर गयो । नेपालको लागि यो खेल एउटा साहसिक प्रयास र आशालाग्दो प्रदर्शनको प्रतिबिम्ब बने पनि पेनाल्टीको असफलताले एएफसी महिला एसियन कपको यात्रा यही टुंगिएको छ ।

