
सन्तोष शर्मा
झापा, १२ साउन । झापामा मकैको उत्पादन र क्षेत्रफल बृद्धि भएको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा मकैको उत्पादनमा दुई हजार तीन सय ९२ मेट्रिक टन र क्षेत्रफलतर्फ दुई सय ७० हेक्टर बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

गत आवमा २०८१/८२ मा ४४ हजार ६२० हेक्टरमा तीन लाख ५१ हजार ४२६ दशमलव ४५ मेट्रिकटन मकै उत्पादन भएको थियो भने उत्पादकत्व ७.८८ रहेको कार्यालयले जनाएको छ ।
झापामा आव २०८०/८१ मा ४४ हजार ३५० हेक्टरमा तीन लाख ४९ हजार ३४ दशमलव ५० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व ७.८७ रहेको कार्यालयले जनाएको छ ।
चैते धानभन्दा मकै खेतीबाट राम्रो प्रतिफल मिल्न थालेपछि कृषक मकै खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको सिमावर्ती क्षेत्र झापा गाउँपालिका सबैभन्दा बढी मकै खेती हुने गरेको छ भने बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकामा समेत उल्लेख्य मात्रामा मकै खेती हुने गरेको छ ।
सिमावर्ती क्षेत्रमा जग्गा ठेक्कामा लिएर भारतीय नागरिकहरुले समेत मकै खेती गर्न थालेका छन् । हुलाकी राजमार्गसँगै जोडिएको धेरै स्थानमा जग्गा ठेक्कामा लिएर मकै खेती गर्ने क्रम बढेको प्रमुख विष्ट बताउनुहुन्छ ।
झापामा उत्पादन हुने मकै जिल्लास्थित पशु आहार उत्पादन उद्योगहरूमा खपत हुने गरेको छ भने पूर्वी पहाडी जिल्लामा पशु आहारका लागि जाने गरेको छ । बोइलर कुखुरा, गाई, सुँगुर लगायत पशुका लागि उत्पादन हुने पशुहारमा मकै प्रमुख वस्तु हो ।
जिल्लामा मकै खेती प्रवर्धनका लागि स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारले विभिन्न प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गत वर्ष जिल्लाका विभिन्न स्थानमा प्रदर्शनीका रुपमा बिना खनजोत प्रविधिबाट मकै खेती गरिएको थियो ।
प्रदर्शनीका रूपमा गरिएको मकै खेतीबाट राम्रो उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताउनुभयो । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न जिल्लाका स्थानीय तहहरुले मकै रोप्ने, छोडाउने मेसिन, सिञ्चाइ मोटर लगायत वितरण गर्दै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

