
झापा, १४ साउन । रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको रिपोर्ट गरिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) ले त्यसलाई परिमार्जन गर्दै ८.८ म्याग्निच्युड पुष्टि गरेको हो।
भूकम्पको केन्द्र कामचट्स्की क्षेत्रको पेत्रोपाभ्लोभ्स्क-कामचाट्स्की शहरबाट करिब १३६ किलोमिटर पूर्वमा रहेको थियो। भूकम्पको गहिराइ १८.२ किलोमिटर रहेको जनाइएको छ।

भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ। कामचट्का प्रायद्वीपमा ३–४ मिटर अग्ला छालहरू देखिएको बताइएको छ। जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । जापानको होक्काइडो क्षेत्रमा पहिलो छाल ३० सेन्टिमिटरको देखिएको छ भने थप छालहरू आउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।
कामचट्का क्षेत्रका केही स्थानमा भवनहरू क्षतिग्रस्त भएका छन् भने केही व्यक्तिहरू घाइते भएको र उपचार भइरहेको जनाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

