
भारत, १८ साउन । उत्तर प्रदेशको गोंडामा तीव्र गतिमा रहेको बोलेरो सवारी नियन्त्रण गुमाएर सरयू नहरमा खस्दा ११ जनाको ज्यान गएको छ। आइतबार बिहान १० बजे इटियाथोक प्रहरी चौकी क्षेत्रको नहरमा भएको यो दुर्घटनामा बोलेरोमा सवार १६ जनामध्ये ९ जना एउटै परिवारका थिए। एक १० वर्षीया बालिका अझै बेपत्ता छन्।
स्थानीयहरूका अनुसार वर्षाको कारण सरयू नहर पानीले भरिएको थियो। बोलेरो नहरमा खस्नासाथ पानीले गाडी पूर्ण रूपमा डुबाएको थियो, जसले गर्दा गाडीको ढोका खोल्न नसकिएको हो। वरपरका गाउँलेहरूले तत्काल पानीमा हाम फालेर उद्धार प्रयास गरेका थिए। धेरै कठिनाइका साथ झ्यालको सिसा फुटाएर ४ जनालाई बचाइएको छ। सबै जना पृथ्वीनाथ मन्दिरमा जल चढाउन जाँदै थिए।

दुर्घटनाको समय गाडीको गति ६० किलोमिटर प्रतिघण्टा रहेको प्रहरीले जनाएको छ। डोरीको सहायता लिएर बोलेरोलाई किनारमा तानेपछि गाडीको केही भाग देखिएको थियो। घटनापछि उद्दार कार्यमा स्थानीय र सुरक्षाकर्मीले सक्रियता देखाएका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

