
झापा, १८ साउन । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा कुल ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर गत वर्षको समान अवधिको ९५.०१ प्रतिशतको तुलनामा करिब ६ प्रतिशत कम हो।
प्रदेशभरका कुल २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। तराईका प्रमुख जिल्ला झापा, मोरङ र सुनसरीमा औसत ९१.७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मध्य पहाडी जिल्लामा ८४.२२ प्रतिशत तथा उच्च पहाडी जिल्लामा ७५.९४ प्रतिशत रोपाइँ भएको छ।
जिल्लागत विवरण अनुसार ओखलढुङ्गामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अन्य प्रमुख जिल्लामा सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यसैबीच, सबैभन्दा कम रोपाइँ तेह्रथुममा ६६ प्रतिशत मात्र देखिएको छ। ताप्लेजुङमा ७३.२९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



