
झापा, २३ साउन । भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा साउन २० गते आएको भीषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी १८ जनाभन्दा बढी नेपाली नागरिक बेपत्ता भएको आशंका गरिएको छ ।
सम्बन्धित जिल्लाका स्थानीय जनप्रतिनिधिहरूका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ का १३ भन्दा बढी नेपाली बाढीपछि सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बाढी प्रभावित क्षेत्रबाट उनीहरूको खोजीका लागि नेपाल सरकारसँग सहयोगको आग्रह गरेका छन् ।

बाढीपछि कुशे–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह बेपत्ता भएको वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिएका छन् । जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका अर्का एक जना पनि सम्पर्कविहीन छन् ।
बर्दियाका पाँच जना र जुम्लाका एक जना पनि बाढीपछि सम्पर्कमा नआएको जनाइएको छ । उनीहरू सडक निर्माण, स्याउ टिप्नेसहितका काममा संलग्न थिए । मंगलबार उत्तरकाशीको धराली बजारमा ‘क्लाउड बर्स्ट’ (अत्यधिक वर्षा) पछि आएको बाढीले ठूलो क्षति पुर्याएको हो । बुधबार पौडी गढवालमा पहिरो जाँदा थप नेपाली बेपत्ता भएका छन् ।
पौडी गढवालस्थित ग्राम बाकुडामा पहिरोले पाँच नेपालीलाई बगाएको छ । उनीहरू खोला किनारमा टेन्टमा बस्दै आएका थिए । पहिरोमा मधुवन–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती र दुई वर्षीय छोरा रोमन, रामु परियारकी श्रीमती अमृता, र मधुवनकै सुवास विक बेपत्ता भएका हुन् ।
घाइते मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ । सबै बेपत्ता व्यक्तिको नाम खुल्न बाँकी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

