
झापा, २७ साउन । देशभर हालसम्म ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो आठ प्रतिशतले बढी हो।
हालसम्म करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ भने कुल १४ लाख हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। भदौ दोस्रो सातासम्म देशभर ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।
तर, मधेस प्रदेशमा मात्र ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा मधेसमा ९७ प्रतिशत रोपाइँ भएको थियो। मनसुन ढिलो सक्रिय भएकाले आवश्यक वर्षा नहुनु रोपाइँमा बाधक बनेको जोशीले जानकारी दिएका छन्।
जोशीका अनुसार धान उत्पादनका हिसाबले तराई क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ, जसले कुल उत्पादनको ७० प्रतिशत योगदान दिन्छ। बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष ६० लाख मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल प्राप्त हुने अपेक्षा गरिएको छ।
मौसमको प्रतिकूलता, अतिवृष्टि तथा अनावृष्टिले कतिपय क्षेत्रमा रोपाइँ ढिलो भएको भए पनि उन्नत जातका बीउबिजन, प्रविधि र ज्ञानको प्रयोगले उत्पादन वृद्धि हुने मन्त्रालयको अनुमान छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



