
श्रीनगर, २९ साउन । भारतको काश्मीर क्षेत्रको किष्टवार जिल्लामा बिहीबार बिहान बादल फाटेपछि आएको भीषण बाढीले कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार अझै पनि केही व्यक्ति बेपत्ता छन्।
काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले घटनालाई “अत्यन्त पीडादायक” भन्दै तीव्र वर्षाका कारण ठुलो जनधनको क्षति भएको जानकारी दिनुभएको छ।

किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले ३४ शव फेला परेको र ३५ जनाको उद्धार गरिएको पुष्टि गर्नुभयो। बाढीपछिको निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएकोले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
अथोली गाउँका स्थानीय सुशील कुमारले एएफपीसँग भने,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ।”
घटनास्थल श्रीनगरबाट झन्डै २०० किलोमिटर टाढा रहेकोले उद्धार टोली पुग्न कठिन भइरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै संकटको घडीमा सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ।
यसअघि, अगस्ट ५ मा उत्तराखण्डको धाराली गाउँमा बाढी र पहिरोले ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको थियो।
प्रत्येक वर्ष मनसुनको समयमा भारतमा बाढी, पहिरो र वर्षा जन्य विपद् सामान्यजस्तै देखिए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटनाहरू अझ गम्भीर र बारम्बार हुने गरेको विज्ञहरू बताउँछन्।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (WMO) ले जलवायु संकट गहिरिँदै गएको चेतावनी दिँदै भनेको छ,“बाढी र खडेरीको बढ्दो घटनाहरू विश्वको जलचक्र अझ अनियमित बन्दै गएको संकेत हुन्।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

