
इलाम, ५ भदौ । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौँ खर्चेर निर्माण गरिएको सो शीत भण्डार प्रयोगविहीन बनेको हो ।
सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गर्नुभयो । “सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,” उहाँले भन्नुभयो, “हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ ।” शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादित फलफूल र तरकारीले राम्रो मूल्य पाउने उहाँको भनाइ छ ।
शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफूल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ । आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ ।
इलाम नगरपालिकाले पटक पटक प्रयास गरेपनि शीत भण्डार सञ्चालनमा ल्याउन नसकिएको जनाएको छ । २० लाख किलोग्राम क्षमताको शीत भण्डार निर्माण गर्दा डिजाइनमा त्रुटि भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताउनुभयो । “हाम्रो शीत भण्डारको संरचना अहिलेको प्रविधि अनुसारको रहेनछ, एउटै च्यामबरमा सबै खालका वस्तु राख्ने गरी बनाइएको रहेछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “पछिल्लो पटक नीजि क्षेत्रका केही टोलीहरू हेर्न आएका थिए, तर शीत भण्डारको संरचना हेरेपछि उनीहरू त्यतिकै फर्किए ।”
शीत भण्डार सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्यामबर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । रु पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो । भारत सरकारको रु चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको रु ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको रु ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीत भण्डार निर्माण गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



