
लन्डन, १७ भदौ ।बेलायतमा नेपाली समुदायका १० व्यक्तिलाई ‘वर्ष व्यक्तित्व’ घोषणा गर्दै सम्मान गरिएको छ।
आइतबार लन्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित ‘मिडिया पर्सनालिटी अफ द इयर २०२५’ शीर्षकमा उनीहरूलाई सम्मान गरिएको हो।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यमा रुबी राउत, डा. विशाल गुरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. डिलीसा सिम्खडालाई सम्मानित गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले नेपाल अब केवल गरिबीले मात्र चिनिने देश नभई प्रतिभा सम्पन्न मुलुकको रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा स्पेलथोर्न काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर मेड बकलेको उपस्थिति थियो। काउन्सिलर बकलेले नेपाली र ब्रिटिस समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
यसै क्रममा, बेलायतमा सक्रिय चारभन्ज्याङ तमु समाज युकेलाई ‘वर्षको उत्कृष्ट सामाजिक संस्था’को रूपमा सम्मान गरिएको थियो।
कार्यक्रममा वेस्ट लन्डनस्थित रिभर एकेडेमीकी छात्रा टिया आचार्यले नेपालमा शिक्षा र पशु अधिकारसम्बन्धी आफ्नो परोपकारी पहलको वृत्तचित्र प्रस्तुत गरेकी थिइन्।
सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, उपाध्यक्ष रामशरण सिम्खडा, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष पशुपति भण्डारी, पत्रकार सुमन खरेल, सुनिल खड्का लगायतले शुभकामना मन्तव्य दिएका थिए।
नेपालब्रिटेन डटकमका अध्यक्ष चिरञ्जीवी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कथावाचक तथा पण्डित कुवेर सुवेदीलाई नेपाली धर्मसंस्कृतिको विकासमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।
देवी गौतमले सञ्चालन गरेको कार्यक्रममा स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, मिडल्यान्ड, अल्डरसट, इस्ट लन्डनलगायत विभिन्न स्थानबाट नेपाली समुदायको सहभागिता रहेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

