
झापा, १८ भदौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिक ट्रेड युनियनहरूबीच चिया मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। नवौँ चरणको वार्तापछि नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले सहमतिको जानकारी दिनुभयो।
सोमबार नेपाल चिया उत्पादक सङ्घको कार्यालयमा सम्पन्न सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभयो। श्रमिक पक्षबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा, र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गर्नुभयो।
नयाँ पारिश्रमिक दर:
दैनिक पारिश्रमिक: न्यूनतम रु ५६५
मासिक पारिश्रमिक: न्यूनतम रु १५,६९९
पहिलेको दर: दैनिक रु ५००, मासिक रु १३,८९३
वृद्धि विवरण:
दैनिकतर्फ आधारभूत पारिश्रमिकमा रु ३९, महँगी भत्तामा रु २६ वृद्धि
मासिकतर्फ आधारभूत पारिश्रमिकमा रु १,१६२, महँगी भत्तामा रु ६४४ वृद्धि
यो सहमति साउन १ गतेदेखि लागू हुनेछ। सिफारिस नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पठाइनेछ, जसले निर्णय गरी राजपत्रमा प्रकाशित गर्नेछ।
साउन १८ गतेदेखि श्रमिक युनियनहरूले आन्दोलन सुरु गरेपछि वार्ता प्रक्रिया अघि बढेको हो। सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुङ्गिएको छ। झापा जिल्ला नेपालमै सबैभन्दा धेरै चिया बगान रहेको क्षेत्र हो। यहाँ नियमित र मौसमी श्रमिक कार्यरत छन्। सहमतिअनुसार नियमित श्रमिकलाई आगामी असोज मसान्तसम्ममा सामाजिक सुरक्षा कोषमा समेट्नका लागि लगत सङ्कलन गरिनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



