
एजेन्सी, २४ भदौ । इजरायली सेनाले गाजा शहर तुरुन्तै खाली गर्न बासिन्दाहरूलाई आदेश दिएको छ । उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाहीअघि इजरायली सेनाले गाजा शहरलाई पूर्णरूपमा खाली गर्न आदेश दिएको समाचार संस्था एपीले जनाएको छ । अहिलेको युद्धमा शहर पूर्ण निकासीका लागि इजरायली सेनाले दिएको यो पहिलो चेतावनी हो ।
यसैबीच रक्षामन्त्री इजरायल काट्जले इजरायलले गाजामा ३० वटा अग्ला भवन ध्वस्त पारेको बताउनुभएको छ । ती भवनलाई हमासले सैन्य पूर्वाधारका रूपमा प्रयोग गरेको इजरायलको आरोप छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजो कम्तीमा ५० वटा ‘आतङ्ककारी टावर’ नष्ट गर्ने योजना रहेको बताउनुभएको थियो ।
पछिल्ला दिनहरूमा इजरायलले गाजा शहरका थुप्रै अग्ला भवनहरू भत्काएको छ जसमा हमासले निगरानी पूर्वाधार स्थापना गरेको दाबी गरिएको छ ।
गाजा शहरका केही भागबाट दक्षिणतर्फ तोकिएको मानवीय क्षेत्रमा जान आग्रह गर्दै इजरायलले हमासको अन्तिम गढ मानिएको क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने उद्देश्यसहित आक्रमणलाई तीव्र पारेको खबरमा उल्लेख छ ।
गाजा शहर क्षेत्रमा झन्डै १० लाख प्यालेस्टिनी रहेका छन् तर इजरायली चेतावनीअघि केवल सानो अंश मात्र त्यहाँबाट बाहिरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

