
झापा, २८ असोज । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग झापामा तीव्र रूपमा बढेको छ। लक्ष्मी पूजा, घर सजावट, भाइटीकामा माला लगाउने र अतिथिलाई स्वागत गर्न सयपत्रीको प्रयोग बढेसँगै माग उच्च भएको हो।
विर्तामोड–७ का फूल किसान विवेक साहले दुई बिघा जमिनमा ८० हजार बिरुवा रोपेर व्यावसायिक खेती गर्दै आएका छन्। उनले हाल दैनिक ३०० माला बिक्री गर्दै विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई आपूर्ति गरिरहेका छन्। फूल टिप्ने र माला बनाउने कार्यमा स्थानीयलाई रोजगारी पनि दिइएको छ।
साहका अनुसार गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला बराबरको फूल नष्ट भएको छ। तिहारमा एक लाख माला उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि मौसमका कारण लक्ष्य पूरा नहुने चिन्ता छ। हाल प्रतिमाला रु ५० मा बिक्री भइरहेको छ, तर तिहारमा मूल्य समायोजन गरिनेछ।
विर्तामोड–९ की सुष्मा पौडेलले सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेकी छन्। उनले दसैँमा केही फूल बिक्री गरिसकेकी भए पनि तिहारका लागि साचेर राखिएको करिब रु २.५ लाख बराबरको फूल पानीले नष्ट भएको बताएकी छन्। पछिल्लो समय खादाको सट्टा फूलमालाको प्रयोग बढेसँगै माग उच्च भएको उनले जनाएकी छन्।
झापाको विर्तामोड, बाहुनडाँगी, गौरादह लगायतका स्थानमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। किसानहरू आगामी वर्ष अझ व्यवस्थित र व्यावसायिक रूपमा खेती विस्तार गर्ने तयारीमा छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



