
भारत, २९ असोज । भारतीय राज्य राजस्थानको जैसलमेर जिल्लामा मंगलबार दिउँसो भएको एक भीषण बस दुर्घटनामा २० जनाको ज्यान गएको छ। सर्ट सर्किटका कारण निजी एसी स्लिपर बसमा आगलागी हुँदा तीन दर्जनभन्दा बढी यात्रु गम्भीर रूपमा घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, लगभग ७० प्रतिशत शरीर जलेका १६ जनालाई जोधपुरस्थित मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दुर्घटनाग्रस्त बस जैसलमेरबाट जोधपुर जाँदै थियो र बसमा जम्मा ५७ जना यात्रु सवार थिए। पोखरणका विधायक प्रताप पुरीले घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
रिपोर्टअनुसार, बसको पछाडिको भागमा सर्ट सर्किट हुँदा झिल्को निस्किएर बसमा रहेको पटाकासम्म पुग्दा आगो फैलिएको थियो। आगो लागेपछि पनि बस केही समयसम्म गुडिरहेको थियो। चालकले आगो आफूसम्म पुग्नुअघि नै बस रोकेर हाम फाले। नजिकैका गाउँलेहरूले आगो निभाउने प्रयास गरे पनि सफल हुन सकेनन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

