
कैलाली, ४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाइएमा कानुनी कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
किसानहरूबाट समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोनमार्फत सम्पर्क गरी तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले किसानले सरकारले तोकेको मूल्य पाउनैपर्नेमा जोड दिँदै व्यापारीले उल्लंघन गरे कारवाही गर्न स्पष्ट निर्देशन दिएका छन्।
२०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्वीन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य रु ३,६२८.३३ निर्धारण गरिएको जानकारी दिएका थिए। उक्त मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी लम्सालले छठ पर्व सकिएलगत्तै कैलालीका सबै स्थानीय तहहरूमा समर्थन मूल्य कार्यान्वयनको अनुगमन गर्ने बताएका छन्।



