
झापा, १९ कात्तिक । कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ ।
कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ क्षति भएको हो ।
कोशी प्रदेशमा कृषि बालीमा २ अर्ब बढीको क्षति पुगेको छ । निर्देशनालयका अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । यसमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ । तरकारीको मूल्य ४ करोड रुपैयाँ बराबर छ भने धानको मूल्य २ अर्ब १ करोडभन्दा बढी देखिएको छ । जम्मा क्षति भने २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ रहेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।
तथ्याङ्कअनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ, जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ, जसको मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ छ ।
सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य ४ करोड रुपैयाँ बराबर छ । पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ । यी सबै धान बालीमा बीमा नभएको निर्देशनालयले जनाएको छ ।



