
कनकाई, २५ कात्तिक । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति ९ः१० बजे सुरुङ्गा पुलबाट टप्पु चोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र।१–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–३ का ३३ वर्षीय दीपक सिटौला गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका सिटौलालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न ४२१० नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–६ का २३ वर्षीय नितेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी आवश्यक अनुसन्धान अघि बढाएको छ । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी आज प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।


