
झापा, १४ माघ । झापाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ ।
दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । कनकाईको जितमा रुचन लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरेका थिए ।

उपाधि जितेसँगै कनकाई नगरपालिकाले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दमक नगरपालिकाले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ कनकाई नगरपालिकाका लक्ष्मण भुजेल घोषित भए । प्रतियोगिताका विभिन्न विधागत अवार्डहरूमा पनि कनकाईकै वर्चस्व देखिएको छ । सर्वाधिक गोलकर्ता रुचन लिम्बु, सर्वोत्कृष्ट खेलाडी क्याप्टेन मनिष भट्टराई, उत्कृष्ट मिडफिल्डर विशाल थेवे, उत्कृष्ट डिफेन्डर लक्ष्मण भुजेल र उत्कृष्ट गोलकिपर ज्ञानेन्द्र निरौला घोषित भए ।
माघ ९ गतेदेखि शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा सञ्चालन भएको उक्त प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

